हुम्ला, माघ ६ गत । नेपाली कांग्रेसले निर्वाचन क्षेत्र १ भएको हुम्ला जिल्लाका लागि जयपति रोकाया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि टासी लाङजोम उम्मेदवार छनोट हुनुभएको छ । दुवै पार्टीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट उहाँहरुलाई उम्मेदवार चयन गरेका हो ।
कांग्रेस जिल्ला कार्य समिति हुम्लाबाट तीन जनाको नाम सिफारिस भएकोमा अन्तिममा केन्द्रले रोकायालाई चयन गरेको कांग्रेस हुम्लामा उपसभापति बसन्त रोकायाले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचनका लागि छनोट हुनुभएको हो ।
काठमाडौँमा रहनु भएका रोकाया मङ्गलबार बिहान मात्र हुम्ला आइपुग्नु भएको छ । २०४९ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका रोकाया हाल कांग्रेस कर्णाली प्रदेश कार्य समितिको सदस्य हुनुहुन्छ । २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यका लागि जिल्लाबाट समानुपातिकमा उहाँ सिफारिस भए पनि अन्तमा सदस्य चयनमा सफल हुन सक्नुभएको थिएन । नेपाल विद्यार्थी संघ हुम्लाको अध्यक्ष, नेपाल तरुण दलको अध्यक्ष हुँदै कांग्रेस हुम्लाको दुई कार्यकाल सभापति समेत भइसक्नु भएको छ । यस पटक उहाँसहित कांग्रेस हुम्लाले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही र संविधान सभा सदस्य रीता शाहीको नाम सिफारिस गरेको थियो ।
त्यसैगरी, हुम्ला जिल्लाबाट रास्वपाका चार जनाले आवेदन दिएको भए पनि आवेदन नै नभरेकी टासी लाङ्जोम उम्मेदवार चयन हुनुभएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २ क्षेत्र रहेको छ । उम्मेदवारी दिनेमा महेन्द्र पाण्डे, लक्ष्मण ऐडी, दत्त बुढा र भरत बहादुर सुनार रहनुभएको थियो । यसअघि रास्वपाले बन्द सूचीमा नाम समावेश गरिएका लाङ्जोमको अन्तमा उक्त पार्टीले हटाएको थियो । रास्वपाले अन्तमा उहाँ नाममा टिक प्रदान गरेको छ । उहाँ पनि नयाँ अनुहार हुनुहुन्छ ।
हुम्ला जिल्लाको इतिहासमा दोस्रो महिला प्रत्यक्षमा उम्मेदवार रहनुभएको छ । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाले जयकला शाहीलाई प्रत्यक्षमा उम्मेदवार खडा गरेको थियो । यो समाचार तयार पारुन्जेलसम्म राप्रपाले भने आफ्नो उम्मेदवार चयन गरेको छैन । यसअघि नेकपा एमाले, नेकपा र प्रगतिशिल लोकतान्त्रीक पार्टीले आफ्ना उम्मेदवार चयन गरिसकेको छ ।