बिष्णुप्रसाद पोखरेल
दमक, माघ ६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको प्रमुख एजेण्डा विकास, समृद्धि र आत्मनिर्भर राष्ट्र निर्माण भएको बताउनुभएको छ । हाल केही समूह र व्यक्तिहरूले गाली, आरोप र गलत भाष्य निर्माणलाई नै राजनीतिक एजेण्डा बनाइरहेको भन्दै अध्यक्ष ओलीले आफुहरु एजेण्डासहित आएको जनाउदै यस्तो बताउनुभएको हो ।
प्रतिनिनिधि सभा सदस्यमा झापा क्षेत्र नंं ५ बाट उम्मेदवारी दिन झापा आउनु भएका ओलीले मङ्गलबार बिहान स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्दै यस्तो बताउनुभएको हो ।
‘‘हामीलाई देश जलाउन र भत्काउन होइन, बनाउन आउँछ,’’ उहाँले भन्नुभयो । एमाले सधैँ राष्ट्र निर्माणको पक्षमा उभिएको पार्टी भएको ओलीले जनाउनुभयो ।
‘‘विकास र समृद्धिको कुरा गर्दा गाली बर्साउने, ‘झोले’ भन्ने र चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएको छ, तर यो प्रवृत्ति कुनै एजेण्डा नभएकाहरूको पहिचान हो,’’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले मुलुकमा राजनीतिक असहमति हुनु स्वाभाविक भए पनि असहमतिको नाममा भ्रम फैलाउने, नकारात्मक भाष्य निर्माण गर्ने र जनतालाई विभाजित गर्ने काम गलत भएको उल्लेख गर्नु भयो ।
नेकपा एमालेले अघि सारेका विकास योजनाहरू भौतिक पूर्वाधार, ऊर्जा, स्वास्थ्य, शिक्षा, रोजगारी र उत्पादनमुखी अर्थतन्त्र आज पनि जनताको प्राथमिकतामा रहेको दाबी गर्नुभएको छ । ‘‘हामी सरकारमा हुँदा होस् वा प्रतिपक्षमा, राष्ट्र हितका विषयमा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्दैनौ,’’ अध्यक्ष ओलीले भन्नुभयो ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण एमालेको दीर्घकालीन लक्ष्य भएको उल्लेख गर्दै कृषि, उद्योग र स्वदेशी उत्पादनको प्रवद्र्धनमार्फत मुलुकलाई आयातमुखी अवस्थाबाट बाहिर निकाल्नुपर्ने अवस्था ल्याउने ओलीले बताउनुभयो । ‘‘देशलाई आत्मनिर्भर बनाउने स्पष्ट रोडम्याप एमालेसँग छ’’, उहाँले जनाउनुभयो ।