एक्काइसौँ शताब्दीको तेस्रो दशकको यात्रामा विश्व ज्ञान, विज्ञान, अनुसन्धान र नवप्रवर्तनको प्रतिस्पर्धात्मक दौडमा अगाडि बढिरहेको छ । यो प्रतिस्पर्धा गर्न सक्ने क्षमताको आधार शिक्षा हो । ज्ञान, विज्ञान, प्रविधि भौतिक तथा मानव विकासको मुख्य आधार विश्वविद्यालय हुन् । विश्वविद्यालय मानव पुँजी उत्पादन गर्ने मुहान हुन् । अहिले नेपालमा १९ वटा विश्वविद्यालय सञ्चालनमा छन् । यी विश्वविद्यालयमा विभिन्न सङ्काय र विषय अध्ययन अध्यापन हुने गरेको छ । नेपाली समाजलाई शिक्षित बनाउनमा यी संस्थाकोे ठुलो योगदान छ । यद्यपि विश्वविद्यालयको गुणस्तरबारे प्रश्न उठिरहेका छन् । हाम्रा विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बन्न सकेका छैनन् ।
जर्मन चिन्तक बिल्हेल्म भोन हम्बोल्ट भन्छन्, “विश्वविद्यालय त्यहाँ विश्वस्तरको बन्दछ, जहाँ शिक्षण र अनुसन्धान एकअर्काबाट अलग हँुदैनन् ।” हाम्रा विश्वविद्यालयको शिक्षण र अनुसन्धानको अवस्थालाई नियाल्दा बिल्हेल्मको भनाइसँग मेल खाँदैन । विश्वविद्यालयमा शिक्षण सिकाइ समयसापेक्ष, आधुनिक, प्रविधिमैत्री तथा अनुसन्धानमूलक हुन सकेको छैन । समयसापेक्ष भनेको श्रमबजार, प्रविधि र सिर्जनासँग जोडिएको शिक्षण पद्धतिलाई बुझ्नु पर्छ । यसका लागि शिक्षण, पाठ्यव्रmम, पाठ्यपुस्तक तथा मूल्याङ्कन पद्धति आधुनिक, व्यावहारिक एवं अनुसन्धानमुखी हुनु पर्छ ।
हाम्रा विश्वविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका रूपमा सञ्चालित छन् । यसो हुनुको पछाडि राज्यको शिक्षाप्रतिको दृष्टिकोण, शिक्षा नीति, पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्याङ्कन पद्धति, अनुसन्धानको संस्कृति जस्ता विषयले प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । विश्वविद्यालय राष्ट्रको बौद्धिक, विज्ञ तथा विशेषज्ञ उत्पादन गर्ने संस्था भएकाले यी संस्था कमजोर हुँदा देशका हरेक क्षेत्र कमजोर हुन्छन् । शिक्षाविद् क्लार्क केरका शब्दमा विश्वविद्यालय परिवर्तनको कुरा गर्छन् तर स्वयम् परिवर्तन हुन सबैभन्दा ढिला गर्ने संस्थामध्ये पर्छन् भन्ने छ ।
केरको भनाइ हाम्रो देशको विश्वविद्यालयको रूपान्तरणको सन्दर्भमा ऐना जस्तै छ ।
विश्वविद्यालय समयसापेक्ष हुनुपर्ने नारा गुन्जिएको दशकौँ बितिसकेको छ । यी संस्थाले पाठ्यव्रmम, पाठ्यपुस्तक, शिक्षण सिकाइ तथा मूल्याङ्कन पद्धतिमा समयसापेक्ष सुधार गर्न नसकेको विज्ञहरू बताउँछन् । युनेस्कोले लोकतन्त्र र दिगो विकासको आधार उच्च शिक्षा हो, भनेको छ । लोकतन्त्र निर्वाचनको प्रव्रिmया मात्र होइन, यो सचेत नागरिकको आलोचनात्मक सचेतनाको जगमा विकास हुन्छ । लोकतन्त्रको विकास नभई दिगो विकास सम्भव हुँदैन । यस अर्थमा देशको उच्चशिक्षा अनुसन्धानमुखी, गुणस्तरीय तथा व्यावहारिक हुन आवश्यक मात्र होइन, अनिवार्य सर्त हो ।
हाम्रा विश्वविद्यालय भवन, पाठ्यव्रmम, पाठ्यपुस्तक तथा प्रमाणपत्र वितरण गर्ने संस्थाका रूपमा मात्र सञ्चालन हुँदै आएको आम बुझाइ छ । यो राष्ट्रको बौद्धिक चेतना, आलोचनात्मक विवेक, सिर्जनात्मक कर्म तथा अधिकार र कर्तव्यबोध भएका नागरिकहरू उत्पादन गर्न विश्वविद्यालयको रूपान्तरण आवश्यक ठानिन्छ । विश्वविद्यालय गुणस्तरीय हुन नसक्दा पढेलेखेका शिक्षित जनशक्तिमा आर्थिक आयआर्जनका लागि विदेश पलायन हुनु परेको छ । उच्च शिक्षासम्मको अध्ययनले शिक्षित जनशक्तिलाई आयआर्जनका बाटा र पाटाहरू खोज्ने, रोज्ने र आर्थिक समृद्धिको बाटोमा आत्मविश्वासका साथ काम गर्ने क्षमता आर्जन हुन नसकेको स्थिति छ ।
अमेरिकाका शिक्षाशास्त्री जोन डिबेका शब्दमा विश्वविद्यालय राष्ट्र निर्माणको प्रयोगशाला हो, यो केवल डिग्री उत्पादन गर्ने कारखाना होइन भन्ने छ । हाम्रो देशको सन्दर्भमा डिबेले भने जस्तो विश्वविद्यालय राष्ट्र निर्माणका प्रयोगशाला हुन सकेको अवस्था पनि छैन । जर्मन दार्शनिक कार्ल यास्पर्स भन्छन्, “विश्वविद्यालयको आत्मा स्वतन्त्र चिन्तनमा निहित हुन्छ, जब राजनीति त्यसमा हाबी हुन्छ, तब विश्वविद्यालयले आफ्नो अस्तित्व गुमाउन थाल्छ ।” कार्लको भनाइका आधारमा हेर्दा हाम्रा विश्वविद्यालय राजनीतिक प्रभावबाट स्वतन्त्र छैनन् ।
प्राज्ञिक क्षेत्रलाई सञ्चालन गर्नका लागि प्राज्ञिक विशेषज्ञता चाहिन्छ । हाम्रो देशमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री तथा सहकुलपति शिक्षामन्त्री हुने नीतिगत प्रबन्ध छ । अहिले विश्वविद्यालय सञ्चालन गर्ने जिम्मा प्राज्ञिकलाई दिनुपर्ने बहस चलेको छ । तथापि कार्यान्वयनमा गएको अवस्था छैन । फ्रान्सका दार्शनिक जुलियन बेन्डाले बौद्धिक वर्गले सत्यभन्दा सत्ता रोज्दा सभ्यता पतनको दिशातर्फ जान्छ भन्छन् । हाम्रो देशको सन्दर्भमा बौद्धिकले राजनीतिक दल वा नेतृत्वको आशीर्वादलाई पद र प्रतिष्ठा आर्जन गर्ने माध्यम बनाउँदा यी प्राज्ञिक संस्था अब्बल हुन नसकेको शिक्षाविद्हरूको कथन छ । विश्वविद्यालयका नेतृत्व प्रदायक क्षेत्रमा ‘राइट म्यान इन राइट प्लेस’ हुन सकेको छैन ।
विश्वविद्यालय व्यक्तिको मात्र नभएर समाज तथा सिङ्गो राष्ट्रको उन्नतिको मुहान हो । यहीँबाट ज्ञान, चेतना, सिप नेतृत्वको प्रवाह सुरु हुन्छ । राष्ट्रको आवश्यक मानव स्रोत, वैज्ञानिक, अध्येता, अनुसन्धानकर्तालगायत विज्ञ तथा विशेषज्ञ उत्पादन हुने ठाउँ भनेको विश्वविद्यालय हुन् । वास्तवमा यी प्राज्ञिक संस्थाबाट दक्ष जनशक्ति मात्र उत्पादन हुँदैनन्, यहाँ सोच्ने, प्रश्न गर्ने, राष्ट्रलाई सही दिशामा डो¥याउने सक्षम नागरिक तयार हुन्छन् । यस सन्दर्भमा राज्यले विश्वविद्यालयलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने कार्य दृढ सङ्कल्पका साथ गर्न जरुरी छ ।
विश्वविद्यालय खोज, अनुसन्धान र नवप्रवर्तनका केन्द्र हुन् । विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको हुनु पर्छ । यी संस्थालाई अब्बल बनाउने प्रस्ट मार्गचित्रको अभाव देखिन्छ । विश्वस्तरको विश्वविद्यालय निर्माण गर्ने कुरा असम्भव नभए पनि सजिलो पक्कै छैन । राज्यको इच्छालाई व्यवहारमा परिणत गर्न सामूहिक प्रतिबद्धता चाहिन्छ । अब विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो होइन, बौद्धिक, स्वायत्त, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाइनु पर्छ । यसो हुन सकेमा हाम्रा विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयसँग तुलना गर्न योग्य बनाउने सपना सफलतामा परिणत हुन सक्छ । यो सफलता चेतनापूर्ण सङ्घर्ष, धैर्य र दीर्घ दृष्टिकोणबाट मात्र सम्भव छ ।