रमेश विश्वकर्मा
गुल्मी, माघ ६ गते। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य राजनीतिक दलले उम्मेदवारी टुङ्गो लगाएका छन्। आज (मङ्गलबार) उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम रहेको छ। यस जिल्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा र राप्रपाले दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको पाइएको हो।
नेपाली कांग्रेसले निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली नेता डा. चन्द्र भण्डारी र क्षेत्र नम्बर–२ मा लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। नेकपा (एमाले)ले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली र क्षेत्र नम्बर–२ मा केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्टलाई उम्मेदवार बनाएको हो।
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य सुदर्शन बराल र क्षेत्र नम्बर–२ मा पनि केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ मा सागर ढकाल र क्षेत्र नम्बर–२ मा गोवन्द पन्थीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नम्बर–१ मा क्षेत्रीय अध्यक्ष अजित श्रेष्ठ र क्षेत्र नम्बर–२ मा जिल्ला सदस्य जनक सेनलाई उम्मेदवार बनाएको पाइएको छ। यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम छन्। जसमा निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन्।