वसन्त पराजुली
नारायणगढ, माघ ६ गते । निर्वाचनका बेला सञ्चारमाध्यमले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले सोमबार भरतपुरमा आयोजना गरेको निर्वाचन आचारसंहिता र प्रेस विषयक छलफल कार्यक्रममा वक्ताहरूले निर्वाचनको संवेदनशीलतालाई प्रेसले जिम्मेवारीपूर्वक बुझ्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शान्तराम बिडारीले निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारमाध्यम सत्य, तथ्य र प्रमाणमा आधारित हुन जरुरी रहेको बताउनुभयो ।
“निर्वाचनमा प्रेस जिम्मेवार हुन नसके लोकतन्त्र नै प्रभावित हुन्छ । निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक पत्रकारिता गर्न म सबै पत्रिकालाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रेस काउन्सिल मिडियाको संरक्षक हो, तर आवश्यक परेमा पीडित नागरिकको पक्षमा पनि उभिनुपर्ने दायित्व काउन्सिलकै हो ।”
बिडारीले संवेदनशील समयमा भ्रामक सूचना, अफवाह र अनावश्यक प्रचारबाजी बढ्ने भएकाले यो समय सञ्चारमाध्यमका लागि कडा परीक्षा हुने बताउनुभयो । विशेषगरी डिजिटल मिडियामा आचारसंहिता उल्लङ्घनका घटना तुलनात्मक रूपमा बढी देखिने गरेको उहाँको गुनासो थियो ।
“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई काउन्सिलले कारबाही गर्छ नै, नागरिकको नजरमा पनि उसले विश्वास गुमाउँछ,” उहाँले भन्नुभयो ।
सो अवसरमा बोल्दै जिल्ला हुलाक कार्यालय चितवनका नायब सुब्बा पदम श्रेष्ठले लोककल्याणकारी विज्ञापन वितरणमा सञ्चारमाध्यमको वर्गीकरण गर्दा आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई प्राथमिकतामा राख्न नहुने तर्क गर्नुभयो ।
प्रेस चौतारी नेपाल बागमती प्रदेशका इन्चार्ज प्रतिमा सिल्वालले निर्वाचनको समयमा पत्रकार लक्षित हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गर्दै जिल्ला–जिल्लामा पुगेर वास्तविक अवस्था बुझ्ने प्रेस काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले चितवनका १५ वटा पत्रपत्रिका वर्गीकरणमा परेका र यसले जिल्लाका लागि सकारात्मक अवसर सिर्जना गरेको बताउँदै पत्रकारलाई केवल समाचार लेख्ने व्यक्ति मात्र नभई जिम्मेवार नागरिकको भूमिका पनि निर्वाह गर्न आग्रह गर्नुभयो ।