• ६ माघ २०८२, मङ्गलबार

अछामका दुवै क्षेत्रका लागि प्रमुख दलका उम्मेदवार तय

blog

शिवराज ढुंगाना 
अछाम, माघ ६ गते ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछामस्थित राजनीतिक दलहरुले उम्मेदवारको टुङ्गो लाएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै क्षेत्रका लागि उम्मेदवार तय गरेका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट भरतकुमार स्वारले रुख चिन्हमा उम्मेदवार बन्ने हुनुभएको छ । उहाँ कांग्रेस अछामको पूर्वसभापति र अछाम जिल्ला विकास समितिको सभापति हुनुहुन्छ । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वार, भीम रावलसँग पराजित हुनुभएको थियो ।

सोही क्षेत्रमा नेकपा (एमाले) बाट टिकट पाएका केन्द्रीय सदस्य झपटबहादुर बोहरा पछाडि हटेर प्रलोपाका उम्मेदवार तथा केन्द्रीय सदस्य दीपक साउँद (तरङ्ग) सूर्य चिन्हमा चुनाव लड्नुहुने भएको छ । सशस्त्र युद्धमा सहभागी साउँद २०७० सालमा तत्कालीन नेकपा माओवादीबाट सोही क्षेत्रबाट संविधानसभा सदस्यमा चुनाव लडेका थिए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलको उम्मेदवारी रहने छ । एमालेबाट २०५२, २०७० र २०७४ मा विजयी हुनुभएका रावल यस पटक प्रचण्ड नेतृत्वको दलबाट उम्मेदवारी रहने छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति ओमप्रकाश रावल उक्त क्षेत्रमा उम्मेदवारी रहने भएको छ ।

यस्तै, क्षेत्र नं २ मा कांग्रेसका जिल्ला सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले उम्मेदवारी दर्ता गर्नुहुनेछ । शाह र बोगटी बिचमा लगातार तेस्रो पटक चुनावमा भिड्दै हुनुहुन्छ । २०७४ मा शाहलाई पराजित गरेर बोगटी र २०७९ मा बोगटीलाई पराजित गरेर शाह प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य शरदसिंह भण्डारी तारा चिन्हमा उम्मेदवार रहनुहुने भएको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहका प्रमुख स्वकीय भुपदेव शाहको उम्मेदवारी रहने छ । विप्लव नेतृत्वको नेकपा (माओवादी) ले शेरबहादुर विकलाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीबाट दोस्रो संविधानसभा सदस्य भरत साउँद उम्मेदवार बन्ने बताइएको छ ।  अन्य साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले पनि उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

मनोनयन दर्ताका उम्मेदवारहरुले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा समय समेत तोकिएको छ । अछाम क्षेत्र नं. १ को साँफेबगरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. २ को मंगलसेनमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने छ । मनोनयन दर्ताका लागि उम्मेदवार र दलका नेताहरु आफ्नो पार्टी कार्यालयमा तयारी गरिरहेका छन् ।