• ६ माघ २०८२, मङ्गलबार

चार नाल भरुवा बन्दुकसहित तीन पक्राउ

blog

बरामद गरिएको भरुवा बन्दुक तथा यसमा लाग्ने आवश्यक सामग्रीहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ६ गते ।
स्याङ्जाको विरुवाबाट चार वटा भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको विशेष सर्च अप्रेसन टोलीले बन्दुक, यसमा लाग्ने सामग्रीसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी विरूवा गाउँपालिका–३ सिउडीका ७७ वर्षीय तिलबहादुर पुलामीको घरबाट एक नाले भरुवा भन्दुक दुई थान, बारुद थान २२३ ग्राम, छर्रा थान–३१, छर्रा बनाउन प्रयोग हुने शिशा थान–१ र भरुवा बन्दुकमा प्रयोग हुने फलामको घोडा थान–१ बरामद गरेको हो ।

यस्तै, सोही ठाउँका ६५ वर्षीय मिनबहादुर पुलामीको घरबाट एक नाले भरुवा भन्दुक थान–१, भरुवा बन्दुकमा प्रयोग हुने भित्र छर्रा थान–१७, बारुद ५० ग्राम, केप थान–२ बरामद गरेको हो ।

यसैगरी, सोही ठाउँका ६५ वर्षीय रणबहादुर थापाको घरबाट एक नाले भरुवा बन्दुक एक थान,भरुवा बन्दुकमा प्रयोग हुने छर्रा थान–२३, बारुद ३७० ग्राम, केप थान–५ बरामद गरेको हो ।

बन्दुक तथा यसमा प्रयोग हुने सामग्रीसहित तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । घरमा लुकाई छिपाइ राखेको अवस्थामा बन्दुक र सामग्रीहरु बरामद गरिएको उहाँको भनाइ छ । यसबारेमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।