• ५ माघ २०८२, सोमबार

भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : भण्डारी (अपिलसहित)

blog

काठमाडौँ, माघ ५ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा सार्वजनिक अपिल गर्दै उहाँले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने अपेक्षासमेत गर्नुभएको उल्लेख गर्नुभएको छ ।

निर्वाचन घोषणा भएसँगै आयोगले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनाई अघि बढेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब भोलिअर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।”

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले गए राति १२:०० बजेदेखि आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताउनुभएको छ । 

“अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ”, उहाँले भन्नुभएको छ ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्नेलगायतका कानुनी प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ । 

उहाँले निर्वाचनका विषयमा अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्ने उल्लेख गर्दै आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो । 

“मनोनयन पत्र दाखिला गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ । हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ”, कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभएको छ । रासस 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अपिल

निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि आफूले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनायो। कार्यतालिका बनाएर हामीले थुप्रै कार्यसम्पादन गरेर अब भोलि अर्थात् माघको ६ गते जो–जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ। बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ।

माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागूगर्ने भनेर निर्णय गरेर लागू भएको अवस्था र स्थिति हो। यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिका अनुसार कार्यसम्पादन भएका छन्। अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन्। तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ, आयोग यसैमा ढुक्क छ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयनपत्र दाखिल हुनुपर्छ। दाखिल भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानुनी प्रक्रियाका कुरा आफ्नै ठाउँमा रहन्छन् । तर समयमा मनोनयनपत्र दाखिल हुन्छ भन्ने कुरामा आयोग विश्वास गर्छ।

अदालतको मुद्दाबारे

अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्छ अन्यथा भन्ने विषय भएन, तर निर्वाचन आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्दैनौं।  

लोकतन्त्रको सुन्दर पक्ष भन्नेकै चुन्ने र चुनिने अधिकार हो। त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ। नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन। यसमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहन्छ। सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ।

मनोनयनपत्र दाखिल गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्नसक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ। हामीले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएका छौं।

उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक कानुनले पूर्णरुपमा निषेध गरेको छ। आचारसंहिताले निषेध गरेको छ। निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयमुक्त वातावरणमा हुनेमा कुनै शंका उपशंका गर्नुपर्ने ठाउँ छैन। सबै विश्वस्त हुनेगरी सहयोग हुनेछ। 

निर्वाचनको विकल्प निर्वाचन नै हो। अर्को वैकल्पिक व्यवस्था नभएका हुनाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग होस् र निर्वाचन सम्पन्न होस् भन्नेमा सरोकारवालाहरू सबैमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ।