• ५ माघ २०८२, सोमबार

स्याङ्जामा ८०८ निर्वाचन प्रहरी अपुग

blog

फाइल तस्बिर ।

अर्जुन काफ्ले 

स्याङ्जा, माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ८०८ जना निर्वाचन प्रहरी अपुग भएका छन् । माघ १ गतेसम्म आवेदन लिने योजना भएपनि अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद माघ ३ गतेसम्म आवेदन दिने म्याद थपिँदा पनि आवश्यक कोटा नपुगेको निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले बताउनुभयो । 

यहाँ दुई हजार १२६ निर्वाचन प्रहरी आवश्यक रहेकोमा अन्तिम दिनसम्म एक हजार ३१८ जनाले मात्रै आवेदन दिएको नेपालीले बताउनुभयो । 

नेपाल प्रहरीतर्फ १९४७ जना माग गरेकोमा १९२ महिला र ९५२ महिला गरी एक हजार १४४ र सशस्त्र प्रहरी बल नेपालतर्फ १७९ जनामा १४ महिला र १६० पुरुष गरी १७४ जनाले मात्र आवेदन दिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । 

भर्नाका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट आवेदन लिइएको थियो ।

निर्वाचन प्रहरीको छनोट प्रक्रिया माघ ९ गतेभित्र सम्पन्न गरिनेछ भने छनोटमा परेका उम्मेदवारलाई माघ १५ गतेदेखि २४ गतेसम्म आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ । 

नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । कार्य अवधिमा उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८६९ रुपियाँ ४० पैसाका दरले जम्मा ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक प्राप्त गर्नेछन् । यसका साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

यहाँ दुई वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नम्बर–१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर–२ मा एक लाख १७ हजार ९३० गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । मतदातामा एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । जिल्लाभर १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।