• ५ माघ २०८२, सोमबार

भयरहीत वातावरणमा निर्वाचन गर्ने प्रतिवद्धता

blog

प्रदेश सुरक्षा समितिको बैठक ।

अविनाश चौधरी

धनगढी, माघ ४ गते । सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आज सम्पन्न भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको थियो । 

प्रदेश प्रहरी ऐन, २०७९ को दफा ९१ बमोजिम बसेको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र प्रदेशको शान्ति सुरक्षाको अवस्था, निर्वाचनलक्षित सुरक्षा चुनौतीहरु र प्रदेशको एकीकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट समीक्षा गरिएको थियो । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहीत वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीतिअनुसार भूमिका निर्वाह गर्ने बैठकले निर्णय गरेको छ । 

यसैगरी, निर्वाचनको समयमा फैलिन सक्ने नकारात्मक सूचनाहरु तथा अन्य गतिविधिहरुलाई सुक्ष्म ढङ्गले निगरानी गर्न चारवटै सुरक्षा निकायहरुले विशेष टोली बनाएर एकीकृत ढङ्गले काम गर्ने बैठकले निर्णय गरेको छ । 

यस्तै, राजनीतिक र प्रशासनिक रुपमासमेत नकारात्मक सूचनाहरुप्रति सजगता अपनाउने लगायतको निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा चार वटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।