• ४ असार २०८१, मङ्गलबार

रातारात सुदूरपश्चिमको बजेट पारित

blog

धनगढी, असार ३० गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट रातारात बहुमतले पारित भएको छ । 

प्रदेश सभामा साढे चार घण्टा छलफल गरेर गएराति बहुमतले बजेट पारित गरिएको हो । सदनमा बजेटमाथिको छलफल हिजो अपराह्नबाट सुरु गरिएको थियो । सत्तारुढ र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको तीव्र असन्तुष्टिका बाबजुद बजेट पारित भएको छ । यसअघि, उहाँहरुको असन्तुष्टिका कारण २८ दिनसम्म सदनसमेत चल्न सकेको थिएन । 

हिजो छलफल भएको बजेटमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले त्रुटिपूर्ण रहेको भन्दै बजेटको आलोचना गर्नु भएको थियो । उहाँहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने जिकिर गर्नु भए पनि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलद्वारा बजेट सच्याउने प्रतिवद्धता जाहेर भएपछि बजेटको पक्षमा मत जाहेर गर्नु भएको छ । 

प्रतिपक्षी दल नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले भने बजेटको विपक्षमा मत जाहेर गर्नु भएको थियो । बजेटको पक्षमा रहनु हुने प्रदेश सभा सदस्यहरुको सङ्ख्या बढी रहेकाले सभामुख अर्जुनबहादुर थापाले बहुमतले बजेट पास भएको घोषणा गर्नुभयो ।   


Author

अविनाश चौधरी