• २७ माघ २०८२, मङ्गलबार

उदयपुर–भोजपुर जोड्ने रानीटार पुल निर्माण तीव्र

blog

उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदिमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, माघ १ गते ।
उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधिन मोटरेबल पक्की पुल निर्माणको कार्यले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माणको काम अलपत्र हुँदै आएकोे दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुल निर्माणको कामले अहिले गति लिएको हो । 

सम्झौता अनुसार पाँच वर्ष अघि नै निर्माणको काम सम्पन्न हुनु पर्ने सो पुल निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पहिलेको डिजाईन परिवर्तन गरेर नयाँ प्रविधिको डिजाइन स्वीकृत गर्ने क्रममा निकै समय लागेकाले निर्माण कार्य ढिलाइ भएको निर्माण कम्पनीका साईट इन्चार्ज हरी ज्ञवालीले बताउनु भयो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटार र भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने सुनकोशी नदीको निर्माणाधीन मोटरेबल पक्की पुल लामो समयदेखि अलपत्र परेको थियो । निर्माण कम्पनीले तीन वर्षमै सक्नु पर्ने उदयपुर भोजपुरको सिमानास्थित सुनकोशी रानीटार पक्की पुल विगत आठ वर्षसम्म अलपत्र हुँदै आएको थियो ।

डिजाइन परिर्वतनपछि चालु आर्थिक वर्ष पुल निर्माणले गति लिँदा निर्माणाधीन पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको पुल सेक्टर धरानका सूचना अधिकारी इन्जिनियर आविष्कार तिम्सिनाले बताउनु भयो ।

निर्माणको जिम्मा लिएको रसुवा स्वच्छन्द एसएनएस पप्पु (जेभी) ज्वाइन्ट भेन्चरले २५ करोडको लागतमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ३० असार २०७३ सालमा ठेक्का सम्झौता भएको थियो । सुरुमा प्रि वायल फाउन्डेसन प्रविधिमा सुनकोशी नदिमा ६ पिलर भएको दुई सय मिटर लम्बाई ११ मिटर चौडाइ रहेको मोटरेबल पक्की पुल निर्माण गर्ने गडरी सम्झौता भएको हो ।

तर पुल निर्माणको क्रममा सुनकोशीमा वारिपारी एक–एक पिलर निर्माण गरेपछि नदिको बिचमा प्रि वायल फाउन्डेसन निर्माण गर्न प्राविधिक समस्या आएपछि २०८० फागुन २८ गते ‘पाइल’ फाउन्डेसनमा डिजाइन परिवर्तन गरी पुनः निर्माणको काम गर्न थालिएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनु भयो ।

डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले २०८० फागुन २८ गतेदेखि रानीटारमा मोटरेबल पक्की पुल निर्माणको काम थालेको हो । सुरुको डिजाइनमा पुलको ६ वटा प्रि वेल’ फाउन्डेसन राख्नु पर्ने थियो । अहिले डिजाइन परिवर्तन भएसँगै ६ वटा ‘पायल’ फाउन्डेसनमा काम भइरहेको छ । पाइलिङ प्रविधिमा निर्माण भएको पिलर नदी मुनि २० मिटर र माथि १८ मिटरको हुने इन्जिनियर साहले बताउनु भयो ।