चितवन समाचारदाता
चितवन, पुस २९ गते । जिल्लामा हुने महोत्सव तथा मेलाले स्थानीय बजारका विभिन्न क्षेत्रमा आर्थिक चहलपहल हुनुका साथै सामाजिक गतिविधिमा सुधार भएको पाइएको छ । दुई महिनायता चितवन र आसपासका क्षेत्रमा एक दर्जनभन्दा बढी मेला, महोत्सव तथा उत्सवमय गतिविधि भएका छन् । अहिले पनि चार वटा मेला एकसाथ लागिरहेका छन् । यस्ता गतिविधिले स्तर अनुसारका आर्थिक क्रियाकलापमा राम्रो प्रभाव पारेको उद्योगी व्यवसायीको भनाइ छ ।
होटेल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले भन्नुभयो, “मेला महोत्सवले त्यसभित्रको मात्र नभएर होटेल व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको पाएका छौँ । सुस्ताएको बजारमा मेला हेर्नकै लागि टाढाबाट आउनेहरू छन् । त्यस्तो वर्गले एक रात होटेलमा बसेर उत्सव हेर्ने गरेको पाएका छौँ ।” उहाँका अनुसार नारायणी नदी किनारमा आयोजना हुने यस्ता उत्सवले किनारमा रहेका व्यवसायी सबैभन्दा धेरै लाभान्वित भएका छन् । तीबाहेक अन्य क्षेत्रका होटेल लजमा समेत पाँच प्रतिशत व्यापार वृद्धि भएको उहाँले भन्नुभयो ।
चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले केही गतिविधि नभएको समयमा भन्दा यस्ता उत्सव हुँदा बजारक्षेत्र मात्र नभएर अन्य क्षेत्र चलायमान भएको बताउनुभयो । “उत्सवमा सहभागी हुनकै लागि भनेर आउनेले बजारमा सामग्री खरिद गरेका छन्,” उहाँले भन्नुभयो, “पुरानै शैलीका सामग्री मात्र नभएर मनोरञ्जनात्मक र अन्य आर्थिक गविधिलाई पनि ध्यान दिएर उत्सव आयोजना गर्नु पर्छ ।”
क्षेत्रीय होटेल सङ्घ सौराहाका महासचिव महेश खनालले पूर्वी चितवनमा आयोजना भएका दुई वटा महोत्सवको प्रभाव सौराहाका होटेलमा परेको जानकारी दिनुभयो । हात्ती महोत्सवले होटेलका प्रायः सबै कोठा भरिएका थिए । त्यसपछि नयाँ वर्षले प्रभाव पारेको थियो । अहिले यसै क्षेत्रमा आयोजना भएका रत्ननगर र खिचरा महोत्सवले थोरै भए पनि वृद्धि गरेको छ । उहाँले फुर्सदमा भएकालाई यस्ता उत्सवले अवसर प्रदान गर्ने र सौराहाका होटेलमा बस्न आउने पाएको बताउनुभयो ।
सेभेन होटेल प्रालिका सञ्चालक माधव दुवाडीले महोत्सवमा टिकट लिएर आउनेलाई छुटको व्यवस्था गरेपछि बुक वृद्धि भएको जनाउनुभयो । सार्वजनिक बिदा तथा विद्यालय बिदाको समयमा महोत्सव हेर्न आउने र एक रात भए पनि सौराहा बसेर फर्किनेहरू छन् । काठमाडौँ, पोखरालगायतबाट आउनेहरू महोत्सव हेरेर बास बस्न आउँदा सौराहा ब्यँुझिएको हो ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले एउटै प्रकृतिका मेला महोत्सवभन्दा समयानुकूल सुधार आवश्यक भएको बताउनुहुन्छ । “जिल्लाभर आयोजना हुने यस्ता महोत्सवमा एउटै प्रकृतिका बजार छन् । यसले आकर्षण वृद्धि गर्दैन, अब फरक शैलीको मेला आयोजना गर्नु पर्छ,” उहाँको सुझाव थियो । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले मेला उत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्ने भएकाले यसको प्रभाव धेरै राम्रो हुने बताउनुभयो ।
नेपाल यातायात महासङ्घका पूर्वउपाध्यक्ष रामप्रसाद सुवेदीले भन्नुभयो, “पछिल्लो समय आर्थिक गतिविधिमा कमी छ । उत्सवमा सहभागी हुने वर्ग विदेश गएका छन् । यस्ता गतिविधि भएन भने थप निराशा पैदा हुन्छ । त्यसैले गतिविधि आयोजना हुँदा आर्थिक क्षेत्र चलायमान हुन्छ । सवारीसाधनमा यात्रुको चाप वृद्धि भएको छ । यसले गर्दा सकारात्मक प्रभाव परेको छ ।”