• २९ पुस २०८२, मङ्गलबार

रुरुक्षेत्रमा ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु

blog

ग्रामीण अल्ट्रासाउण्ड सेवा शुभारम्भ गर्दै रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीसहित जनप्रतिनिधि । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस २९ गते ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा सुरु गरेको छ । गाउँपालिका प्रमुख यदु ज्ञवालीले रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार स्वास्थ्य चौकीबाट सेवा शुभारम्भ गर्नुभयो । ज्ञवालीले यो सेवा बलेटक्सार, बम्घा, थानापती र ग्वादी क्षेत्रका गर्भवती आमाहरुलाइै केन्द्रमा राखेर सञ्चालन गरिएको बताउनुभयो । सक्नेहरु स्तरीय अस्पतालमा हिँडीहाल्ने भएकाले स्वास्थ्यचौकी गरिब तथा विपन्न परिवारको मात्र हुँदा सेवाहरु थप विस्तार गरेर अगाडी बढिएको ज्ञवालीले बताउनुभयो ।

सेवाग्राहीलाई हरेक दुई महिनामा आफ्नै वडामा अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ । नियमित सेवा बलेटक्सार स्वास्थ्य चौकीबाट उपलब्ध हुने भएकाले ग्रामीण भेगका आमाहरुलाई समयमै, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा पुर्‍याउने ज्ञवालीले बताउनुभयो । उहाँले आमाहरुको जीवन र भावी सन्तानको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण कामको प्रारम्भ भएकाले लुम्बिनी प्रदेश सरकार र सहयोगी सवैलाइ आभार प्रकट गर्नुभयो । गाउँपालिका उपप्रमुख मिनादेवि गौतमले स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाबारे समुदाय स्तरमा हरेक परिवारमा प्रचार गर्न महिला स्वास्थ्य स्वयसेविका र सरोकारवालालाई आग्रह गर्नुभयो । उहाँले सेवा प्रभावकारी हुन लाभाम्वितले सूचना पाउने वातावरण हुनुपर्नेमा जोड दिनुभयो ।

रुरुक्षेत्र गाउँपालिकामा रुरु प्राथमिक स्वास्थ्य केन्द्र छ । दुई जना मेडिकल अधिकृतसहितका जनशक्तिबाट नागरिकको स्वास्थ्य सेवामा क्षेत्रमा गाउँपालिकाले काम गरिरहेको छ । त्यो बाहेक १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ । गाउँपालिकाले बिरामी परे घर नजिकै रगत परीक्षणको प्रत्येक वडामा प्रयोगशाला सञ्चालन गरिरहेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता गरेर गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई निबृतिभरण योजना सुविधामा समेटेको छ ।

त्यस्तै, आँखा उपचार सहज बनाउन आँखा उपचार केन्द्र स्थापना, घरघरमा स्वास्थ्य, बिशेषज्ञहरुद्धारा बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गाउँपालिकाले गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी ६ र आर्युवेद औषधालय दुई वटा रहेका छन् । यी मध्ये आर्युवेद बलेटक्सारको आफ्नै भवन छैन । पालिकामा एक एम्बुलेन्स सञ्चालनमा रहेको र एउटा खरिदको चरणमा रहेको । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका, पूर्णखोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक इन्द्रदेव पौडेलले जानकारी दिनुभयो ।