अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २९ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानकी २२ वर्षीय सिमा पुनलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ ।
बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित भएकी २२ वर्षीया पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो ।
नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा लिलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्याल्य म्याग्दीका सूचना अधिकारी सहायक प्रजिअ कुलप्रसाद आचार्यका अनुसार नेपाल नागरिकता (चौथो संशोधन) नियमावली २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको हो ।
अब आफ्ना रोकिएका कार्यहरू अगाडी बढ्ने नागरिकता प्राप्त गरेपछि पुनले प्रतिकृया दिनुभयो । १६ वर्ष पूरा भएपछि पाउने नागरिकता पाउन मलाइ २२ वर्ष पुग्नु पर्दा दुःख लागेको भए पनि नागरिकताले अब मेरो परिचय खुलेको छ । मलाई जन्माउने आमाकै नामबाट नागरिता पाउँदा निकै उत्साहि छु, पुनले भन्नुभयो ।
आफ्नी छोरीको हातमा नागरिकता परेपछि आमा लिलसराले आफ्नो जन्मपछिको अर्को महत्त्वपूर्ण जिम्मेवारी पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मेरी छोरी पनि अब नेपाली नागरिकताको प्रमाणपत्रसहितको पहिचान बनाउन सकेकी छिन् यसैमा खुशी छु ।’’
जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा स्थानीय तहलाई समेत जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी आर्चायले प्रतिकृया दिनुभयो । उहाँले नेपालको संविधान तथा प्रचलित कानुनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा हालसम्म तीनजना किशोरीले आमाको नामबाट नागरिकता लिन आवश्यक कागजातहरु प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।