• २९ पुस २०८२, मङ्गलबार

निर्माण हुँदै आकासे पुल

blog

आकासे पुल निर्माणस्थल वीरेन्द्रनगरको मङ्गलगढी चोक । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता 

सुर्खेत, पुस २९ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मङ्गलगढी चोकमा कर्णालीकै पहिलो आकासे पुल निर्माण सुरु गरिएको छ । यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न आकासे पुल निर्माण गर्न लागिएको हो । 

वीरेन्द्रनगर गौरवको आयोजना अन्तर्गत आकासे पुल निर्माण गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो । यो वर्ष पाइलट प्रोजेक्टका रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । ठेक्का सम्झौता भई काम अघि बढाइएको नगरपालिकाले जनाएको छ । आगामी जेठसम्म काम सक्ने गरी आकासे पुल निर्माणको काम सुरु भएको नगरपालिकाका इन्जिनियर ईश्वरी ढकालले जानकारी दिनुभयो । 

२०८२ पुस २६ देखि २०८३ जेठ ३१ गतेसम्म निर्माण गरिसक्ने गरी सम्झौता गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र अर्जुन कन्स्ट्रक्सन काठमाडौँबिच ठेक्का सम्झौता गरिएको हो । भ्याटबाहेक ९९ लाख ९३ हजारमा आयोजनाको ठेक्का सम्झौता गरिएको इन्जिनियर ढकालले बताउनुभयो । यो वर्ष पाइलट प्रोजेक्टका रूपमा उक्त आयोजनाको काम अघि बढाइएको भन्दै उहाँले आगामी वर्षमा पुल सफल रूपमा प्रयोगमा आएको खण्डमा बसपार्क जाने बाटोमा समेत आकासे पुल निर्माणको योजना राखिएको जानकारी दिनुभयो । वीरेन्द्रनगरमा पहिलो पटक आकासे पुल निर्माण थालिएको हो । यसको सफल रूपमा प्रयोग भएको खण्डमा अन्य स्थानमा पनि निर्माण गरिने जनाइएको छ । दोस्रो चरणमा यरी चोक, एयरपोर्ट चोकलगायतका स्थानमा आकासे पुल निर्माणलाई निरन्तरता दिने योजना नगरपालिकाको छ । वीरेन्द्रनगरमा दिनहुँ जसो सडक दुर्घटना हुने गरेको छ । ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुनु, तीव्र गतिमा सवारीसाधन हाँक्नुलगायतका कारणले दिनहुँ जसो सडक दुर्घटना हुने गरेको हो । यसलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले पैदलयात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती पनि जडान गरेको छ । 

अहिलेसम्म नगरपालिकाले २३२ वटा ट्राफिक बत्ती जडान गरेको हो । आर्थिक वर्ष २०८०/८१ बाट ट्राफिक बत्ती जडानको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । यो वर्ष पनि १२० वटा ट्राफिक बत्ती जडान गर्न लागिएको नगरपालिकाका इन्जिनियर ईश्वरी ढकालले बताउनुभयो । रेडियो नेपालदेखि बाङ्गेसिमल, धुलियाबिटदेखि सुब्बाकुनासम्म ट्राफिक बत्ती जडान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । एक करोड १८ लाखमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको उहाँको भनाइ छ । सनवे सानो भ¥याङ काठमाडौँसँग एक करोड १८ लाखमा नगरपालिकाले ठेक्का व्यवस्थापन गरेर ट्राफिक बत्ती जडान थालेको जनाइएको छ । प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई ध्यानमा राख्दै आवश्यक सडक सुरक्षाका उपाय अवलम्बन गर्न लागिएको नगरपालिकाले जनाएको छ । राजधानीकेन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्मकाँटा, चोक सुधार, फुटपाथ व्यवस्थापन, सिसी क्यामरा, हाई मास लाइट, आइटी जोन जस्ता सहरी पूर्वाधार निर्माणका काम धमाधम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।