• २९ पुस २०८२, मङ्गलबार

बाल स्वास्थ्यको संवेदनशीलता

blog

बढ्दो आधुनिकतासँगै सर्वसाधारणको जीवनशैली र सामाजिक व्यवहारमा रेडिमेड उपभोग्य सामग्रीको बढ्दो प्रयोगले स्वाभाविक मानवीय गुणहरूमाथि पनि हस्तक्षेप सुरु गरिसकेको छ । जमिन, जल तथा आकाश अर्थात् वायु पनि प्रदूषित भइसकेका छन् । हाम्रो परम्परागत संस्कृति तथा सामाजिक व्यवहारमाथि पनि आधुनिकताको विकृतिजन्य प्रदूषणले असर गरिरहेको देखिएको छ । हामी अहिले यस्तो युगमा प्रवेश गरिसकेका छौँ, आधुनिकताको उपयोगभन्दा दुरुपयोग बढी भइरहेको छ, जस कारण नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्म प्रभावित भइरहेका छन् । 

नवजात शिशुले आमाको दुध अझै पनि पाइरहेको अवस्था छ तर सहरी क्षेत्रमा सुन्दरता बिग्रिने नाउँमा कृत्रिम दुध खुवाउने गरिन्छ र आमाको दुधबाट वञ्चित गरिन्छ । जहाँ शिशुहरू घाममा खेल्थे, हातखुट्टामा लसुन र शुद्ध तोरी वा सस्र्युंको तेलले मालिस हुन्थ्यो, ती सबै हराए । दुधे बालबालिकाले खेल्ने परम्परागत अति साना खेलौनाहरू हराइसकेका छन् र साझा खेलौनाका रूपमा मोबाइल आइसकेको छ । अबोध शिशुको आँखामा मोबाइलको रङ्गीन चित्र, सङ्गीत र कार्टुन तथा भिडियो पर्न सुरु भएपछि त्यसैमा रुचि बस्दो रहेछ । अबोध शिशु नजानिँदो किसिमले मोबाइलमा अभ्यस्त भएपछि अन्यत्रको दुनियाँ साँघुरो हुँदो रहेछ । हुन त आमालाई पनि क्षणिक रूपमा अबोध शिशु मोबाइलमा रमाउन थालेपछि आराम अनुभूति हुन्छ । केही फुर्सद पाइएको जस्तो लाग्छ तर यथार्थमा मोबाइलले अबोध बालबालिकाको नैसर्गिक प्राकृतिक जीवनमाथि हस्तक्षेप गरेको हुन्छ । साना बालबालिकामा मोबाइलको लत बसेपछि अनिद्रा, बेचैनी, रिसाउने, झर्किने जस्ता समस्या सामान्य बन्दै गएको र पढाइमा केन्द्रित हुन नसक्ने, आँखाको समस्या हुने, हिंसात्मक खेल मन पराउने, आफू ठुलो हुँ भन्ने भावनाको विकास हुने, एक्लै रमाउने प्रवृत्तिको विकास हुने तथा भावनात्मक सम्बन्ध कमजोर हुने जस्ता समस्या पनि देखिने गरेको विज्ञहरूको भनाइ छ ।

परम्परागत बालखेलहरू लोप हुन थालिसकेका छन् । बालबालिका मोबाइलमा रमाइरहँदा बाल खेलकुदका फाइदाबाट वञ्चित भइरहेका छन् । घाम, वर्षा तथा जाडोले प्राकृतिक प्रकोपको रूप नलिँदासम्म सबै मौसम र समयका बालखेलहरू पहिले प्रचलनमा थिए । यसले शारीरिक विकास, सुगठन तथा सहनशीलता गुणमा वृद्धि गरेको मानिन्थ्यो । मानसिक विकास तथा सामूहिकताको भाव विकास भएको मानिन्थ्यो । अबोध बालबालिकामाथि पढाइको बोझ, अत्यधिक सवारीसाधनको चाप, खेलकुदका लागि सार्वजनिक ठाउँको अभाव र अन्य कारणले बालबालिकाका परम्परागत र प्राकृतिक खेलकुद हराइसकेका छन् । वर्तमानका अधिकांश खेल, खेल सामग्री रैथाने तथा रैथाने प्रकृतिका नभएर आयातित र कृत्रिम हुँदै छन् । स्वाभाविकता, नैसर्गिकता तथा स्फूर्तिपना कम हुने खेलमा बालबालिका रमाउन थालेका छन् । कपडा, कागज, माटो, ढुङ्गा र काठका खेलकुदका सामग्री हराइसके, बालबालिका हातमा प्लास्टिकका खेलकुद सामग्री परिरहेका छन् । प्लास्टिकका खेलकुदका सामग्रीमा रहेका रसायनले बालबालिकामा दोहोरो नोक्सानी पु¥याइरहेको मानिएको छ ।

अत्यधिक प्लास्टिकको प्रयोगले पनि नैसर्गिक बालापनमाथि घातक हस्तक्षेप गरिरहेको छ । हिजोआज जे पनि प्लास्टिक प्याकमा उपलब्ध हुन थालेको छ । औषधीको ट्याब्लेट, झोल आदि सबै प्लास्टिकमा हुन्छ । हुन त मापदण्ड पूरा गरिएको हुनु पर्छ तर बजारमा बिस्कुट, चाउचाउ र पूर्ण तयारी भनिएका बाल रुचिकर अन्य सबै खाद्य सामग्रीमा गुणस्तरीय प्लास्टिक उपयोग गरिएको हुन्छ भन्ने होइन । खासै निरीक्षण र अनुगमन नहुने तथा ठेला, साइकल र जिउमै पसल बोकेर चोक, सडकपेटी तथा विद्यालयको छेउछाउमा बिक्री हुने पसलमा प्लास्टिक प्याक नगरिएका कुनै खाद्य सामग्री हुँदैनन् । प्लास्टिक प्याक नभएका खाद्य सामग्री बालबालिकाले किन्दा पनि किन्दैनन् । प्रायः सम्पूर्ण खाद्य सामग्री आकर्षक प्लास्टिक प्याकमा उपलब्ध छन् । बजारमा पानी, दुध, तेल पनि प्लास्टिक प्याकमा उपलब्ध छन् । खाद्य तथा पेय पदार्थमा रङ, स्वाद र लामो समयसम्म ताजा देखाउने रसायन मिसाइएका पनि हुन सक्छन् । यसरी प्लास्टिक प्याकभित्र विभिन्न रसायन मिलाइएका खाद्य तथा पेय सामग्री बालबालिकाले उपभोग गरिरहँदा प्राकृतिक स्वाद, पौष्टिक र सन्तुष्टि पाउनबाट वञ्चित भएका हुन् कि ? कृत्रिम स्वाद, रङ र आकर्षणमा बालबालिकाले खोजिरहेको सन्तुष्टि पनि कम घातक नहोला । 

बालबालिकाको राम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि हरियो सागसब्जी, अन्डा, माछा र मासु खुवाइन्छ । हरियो सागमा ९९ प्रतिशतसम्म विषादी पाइएको छ । हरियो तरकारीमा पनि विषादीको मात्रा पाइने गरेको बेला बेलामा समाचार आइरहन्छ । यसै गरी अन्डा दिने र मासुका लागि पालिने दुवै किसिमका कुखुरालाई एन्टिबायोटिक अत्यधिक मात्रामा दिइएको हुन्छ । चारदेखि छ महिनामा स्वाभाविक रूपमा तयार हुने कुखुरा एकदेखि डेढ महिनामा विभिन्न औषधीका कारण तयार भइरहेको छ । कृत्रिम अन्डा पनि बजारमा आइरहेको बताइन्छ । पोखरीमा पालिने माछालाई रासायनिक मल तथा विभिन्न किसिमका एन्टिबायोटिक दिइने गरिन्छ । खसी र बोकाको शरीरमा मासु पलाउने किसिमका औषधी, डिपोप्रोभेरा खोप तथा अन्य विभिन्न रासायनिक औषधी पनि दिने गरिएको विभिन्न समयमा सार्वजनिक भइरहन्छन् । 

अहिलेसम्म मानवीय उपभोगको वातावरण कृत्रिम बन्दै गएको तर मानव शरीर चाहिँ प्राकृतिक रहेको विश्वास छ । दैनिक जीवनमा प्रयोग र प्रचलनमा प्लास्टिकको अत्यधिक उपयोग र उपभोग बढ्दा मानव शरीरमा पनि माइक्रो प्लास्टिक कणको प्रवेश भइसकेको छ । यसको परिणामस्वरुप नवजात शिशुले आमाबाट पनि शुद्ध दुध चुस्न नपाउने अवस्था सिर्जना हुँदै गएको छ । भारतमा गरिएको एक अध्ययनले सहरी क्षेत्रका अधिकांश आमाको दुधमा माइक्रो प्लास्टिक कणको मात्रा पाइएको छ । यसबाट गर्भे शिशुमा पनि प्लास्टिकको अंश प्रवेश गरिरहेको छ कि भन्ने शङ्का उत्पन्न गर्छ । नवजात तथा अबोध शिशुले शुद्ध आमाको दुध पाउनुपर्ने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । अबोध र निर्दोष बालकले आमाको दुध पनि मिलावटयुक्त चुसिरहेको कहालीलाग्दो अवस्था छ ! आमाको दुधलाई अमृत मान्ने गरिएको छ । के अमृतमा पनि विषको मात्रा बढिरहेकोलाई रोक्न नसकिएला ?

धुलो र धुवाँले हावाको गुणस्तरमाथि निरन्तर प्रहार गरिरहेको छ । कहिलेकाहीँ सास लिनका लागि योग्य हावाको अभाव हुन पुग्छ । यसै गरी पानीमा पनि प्रदूषणको तथ्य सार्वजनिक भइरहन्छ । सहरी क्षेत्रको हरेक घरमा पुग्ने पानी प्लास्टिकको बोतल वा जारमा हुन्छ । धाराको पाइप र पानी सङ्ग्रह गर्ने ट्याङ्की पनि प्लास्टिककै हुन्छ । गाउँघरमा जडान हुने कलधाराको पाइप पनि प्लास्टिककै हुन्छ । जमिनमा पनि प्लास्टिकको प्रदूषण कम छैन । जमिनमा अन्य रासायनिक मल, विषादी तथा औद्योगिक र अन्य रसायनको दुष्प्रभाव बढिरहेको छ । यसरी वायु, जल तथा जमिन सबैतिर प्रदूषण बढिरहँदा बालबालिकाले स्वाभाविक रूपमा प्राप्त गर्नुपर्ने प्राकृतिक वातावरण पाउन सकिरहेको छैन । सबै किसिमको प्रदूषित वातावरणमा निर्दोष बालापन हुर्किरहेको छ । प्रदूषित वर्तमानले बालबालिकाको भविष्यमा पार्ने असरबारे सबै क्षेत्रबाट गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता रहेको छ । 

बालबालिका देशका भविष्यका निधि हुन् । बालबालिकाको बालापनलाई सुरक्षित पार्दा देशको भविष्य सुरक्षित हुन्छ । बाल स्वास्थ्य अतिसंवेदनशील विषय हो । यस विषयमा गम्भीर हुनै पर्छ । नवजात शिशु तथा अबोध बालबालिकालाई कतिपय अवस्थामा नजानेर र कतिपय अवस्थामा हेलचक््रयाइँ गरेर स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पर्ने खाद्यान्न, पेय पदार्थ तथा खेलौना र वातावरण उपभोग गर्ने तथा गराउने गरिरहेका छौँ । बालबालिकालाई प्राकृतिक आनन्दबाट वञ्चित गरिरहेका छौँ र आधुनिकताको नाममा हानिकारक कृत्रिमतालाई आँखा चिम्लेर स्वीकार गरिरहेका छौँ । बालबालिकाको स्वास्थ्य र भविष्यबारे वर्तमानमा नै गम्भीर हुन सकेनौँ भने स्थिति भयावह भई नियन्त्रण गर्न झन् कठिन हुन सक्छ । यसर्थ बाल स्वास्थ्यप्रति समयमै सचेत भई हाम्रा अबोध बालबालिकालाई स्वाभाविक र प्राकृतिक बालापन दिनु जरुरी छ, तिनीहरूमाथि भइरहेको अप्राकृतिक हस्तक्षेपलाई रोक्नु अत्यावश्यक भइसकेको छ ।