धनगढी समाचारदाता
धनगढी, पुस २९ गते । थारू समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको अवसर पारेर कैलालीमा नगरस्तरीय थारू माघ महोत्सव आयोजना हुने भएको छ । मौलिक संस्कृति, संस्कार प्रवर्धन गर्ने उद्देश्यले गोदावरी नगरपालिका–८, मजगाउँस्थित थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । बरघर भलमनसा गोदावरी नगर समिति, मजगाउँ थारू सामुदायिक होमस्टे र न्यु खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा माघ १२ देखि १४ गतेसम्म महोत्सव हुने छ ।
सो महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीका साथै थारू कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, गोदावरी नगरपालिकाको स्थायी बसोबासी थारू समुदायका राष्ट्रसेवक कर्मचारीलाई सम्मानलगायतका कार्यक्रम रहने महोत्सव मूल आयोजक समितिका संयोजक जनकलाल चौधरीले जानकारी दिनुभयो ।
विगत १६ वर्षदेखि माघ महोत्सव आयोजना गर्दै आएको जनाउँदै उहाँले यस महोत्सवबाट लोकसंस्कृति संरक्षणमा सहयोग पुग्नुका साथै स्थानीयमा जनचेतनाको विकास पनि भएको बताउनुभयो ।
त्यस्तै थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् माधव थारूले माघ महोत्सवले गोदावरी नगर क्षेत्रमा सांस्कृतिक जागरण ल्याउन मद्दत गरेको बताउनुभयो । नगर क्षेत्रमा रहेका प्रत्येक थारू गाउँमा अचेल सखिया, मघौटालगायतका नाच हुने गरेको उहाँको भनाइ छ ।