• २९ पुस २०८२, मङ्गलबार

सुन तोलाको पौने तीन लाख

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि दुई लाख ७० हजार छ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ५९ हजार रुपियाँमा झरेको थियो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेपछि सुनको मूल्य निरन्तर बढ्दै गएको हो । 

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पुसमा सुनको मूल्य तोलामा १५ हजार सात सय रुपियाँले बढेको छ । 

यसैबिच चाँदीको मूल्य तोलामा २०५ रुपियाँले बढेर पाँच हजार रुपियाँ नाघेको छ । आइतबार प्रतितोला चार हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर पाँच हजार १९५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएको छ । पुसमा चाँदीको मूल्य तोलामा एक हजार ३१० रुपियाँले बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढ्दा मूल्यसमेत निरन्तर बढ्दै गएको हो । औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग धेरै हुने गर्छ ।  सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य चार हजार एक सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुनको मूल्य दुई लाख ७४ हजार सात सय रुपियाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य दुई लाख ७० हजार छ सय रुपियाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपियाँले बढेको छ । आइतबार चार हजार ९९० रुपियाँ रहेको चाँदी आज पाँच हजार १९५ रुपियाँ पुगेको हो ।