• २० फागुन २०८२, बुधबार

सुपारी, केराउ र मरीचको आयात खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । सरकारले सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना निकालेर उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी, सेतो र कालो मरीच आयातका लागि अनुमति खुला गरेको हो ।

अनुमति दिँदा उद्योग विभागबाट औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता एवं औचित्य र आयात गर्न आवश्यक परिमाणका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रूपमा मात्र सदुपयोग भएको सुनिश्चित हुने गरी सम्बन्धित उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी तोएिका मालवस्तु पैठारीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सिफारिस 

गर्नुपर्ने छ । यस्तै नयाँ स्थापना भएको उद्योगको हकमा उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बर, उत्पादन क्षमता, उद्योगको वार्षिक स्वीकृत स्किमको प्रतिलिपि र चालु आर्थिक वर्षमा सञ्चालन हुने तथा उत्पादन लक्ष्यको स्वघोषणा आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै विगतदेखि सञ्चालनमा रहेका उद्योगका हकमा उद्योग दर्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक भएको पत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर/स्थायी लेखा नम्बर, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, उद्योगको उत्पादन क्षमता, चालु आवमा उत्पादन लक्ष्यको स्वघोषणा, अघिल्लो आवमा कच्चा पदार्थ पैठारी गरेको भए पैठारीको परिमाण, त्यसको उपयोगबाट भएको उत्पादन र बचत परिमाण उल्लेख गर्नुपर्ने छ ।