तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), पुस २९ गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा वार्षिक एक लाख बढीको हाराहरीमा पर्यटक आए तर त्यहीँ नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्षमा तिलौराकोटमा स्वदेशी तथा विदेशी गरी एक लाख सात हजार ९५८ पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ तर त्यसको २० प्रतिशत पनि नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा गएको देखिएन ।
सङ्ग्रहालयकी प्रमुख शान्ति शर्माका अनुसार सन् २०२५ मा स्वदेशी छ हजार ४६०, सार्कबाट एक हजार १४५, विदेशी ७४८ जनाले अवलोकन गरेका छन् । त्यस्तै सन् २०२४ मा नेपाली आठ हजार ५७३, सार्कबाट एक हजार ६०३ र विदेशी ५३९ जनाले अवलोकन गरेको उहाँको भनाइ छ ।
तिलौराकोटमा आएका पर्यटकमध्ये न्यून मात्र सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयकी प्रमुख शर्माको भनाइ छ । अधिकांश विदेशी पर्यटक भारत हुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी हुँदै सिधा तिलौराकोट आउने गरेकाले त्यसको प्रत्यक्ष असर सङ्ग्रहालयलाई परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा आउने पर्यटकका लागि सुविधासम्पन्न बसपार्क र स्थानीय पथप्रदर्शकको प्रयोग गरियो भने अवलोकन गर्ने दर्शकको सङ्ख्या बढ्ने छ ।”
पथप्रदर्शक राजकुमार यादवका अनुसार भारतीय पर्यटक आफ्नै पथप्रदर्शक ल्याउने र तिलौराकोट घुमाएर मात्र लैजाने कारणले न्यून मात्रामा सङ्ग्रहालयमा जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तिलौराकोटमा सङ्ग्रहालयको प्रचारप्रसारका लागि सूचना बोर्ड नराख्नुले धेरैलाई सङ्ग्रहालयबारे थाहै नभएर फर्केर जाने गरेका छन् ।”
विगत १२५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषण तथा उत्खननका क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा राखिएका छन् । सात बिघा क्षेत्रफल रहेको सङ्ग्रहालयमा इसापूर्व आठौँ, छैटौँ शताब्दीको मौर्यकालीन तेस्रो शताब्दीको सुगाकालीन, कृष्णकालीन समयका माटाका भाँडा, चाँदीका सिक्कालगायतका विभिन्न महत्वपूर्ण सामग्री प्रदर्शनमा राखिएको सङ्ग्रहालय प्रमुख शान्ति शर्माले बताउनुभयो ।
सङ्ग्रहालयले तिलौराकोट कपिलवस्तुका साथै बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका महत्वपूर्ण पुराताìिवक स्थललाई समेत चित्रण गरेको छ ।