• २९ पुस २०८२, मङ्गलबार

कालिजपालनबाट आकर्षक आम्दानी

blog

राप्तीसोनारी–२ का उदयराम पुनको लोभलाग्दो कालिज फार्म । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, पुस २९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयराम पुनले कालिजपालनबाट राम्रो आम्दानी गर्नुभएको छ । उहाँले वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर पनि विदेशभन्दा धेरै पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । 

पाँच वर्षअघि दुई सय वटा कालिजबाट व्यवसाय सुरु गरेका पुनसँग अहिले एक हजार पाँच सयभन्दा बढी कालिज छन् । उहाँले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो वृद्धि भएर ३५ देखि ४० लाख रुपियाँसम्मको कारोबार हुने आशा गरिएको बताउनुभयो । 

पटक पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिजपालन व्यवसाय सुरु गर्नुभएका पुनले कालिजपालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताउनुभयो । उहाँका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन पनि बढाउँदै लगिएको छ ।  व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नु परेको पुनको अनुभव छ । पहिलो पटक दाङबाट ल्याइएका दुई सय चल्लामध्ये १५० भन्दा बढी मरेपछि पनि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उहाँको भनाइ छ ।

दुई कट्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आउनुभएका पुनले आफ्नै ह्याचरी मेसिनसमेत जडान गर्नुभएको छ । उहाँले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहनुभएको छ ।  पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँमा बिक्री हुने गरेको छ । भाले कालिज दुई हजार पाँच सय र पोथी कालिज एक हजार २५० रुपियाँ किलोमा बिक्री भइरहेको छ । बाँकेका होटेलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ । 

हाल पुनले ८० पोथी र २५ भाले बिउका लागि छुट्टै राख्नुभएको छ । आउँदो फागुनदेखि थप चार कट्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापा जस्ता अन्य उद्यमी पनि संलग्न हुनुहुन्छ । उहाँसँग हाल पाँच सय कालिज बिक्रीका लागि तयार रहेको थापाले बताउनुभयो । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उहाँको भनाइ छ । 

व्यवसायमा संलग्न कृषकका अनुसार बाँकेमा कालिजपालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदै गएको छ ।