अविनाश चौधरी
धनगढी, पुस २८ गते । डिभिजन वन कार्यालय धनगढीले कैलालीको चुरे क्षेत्रबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको जनाएको छ ।
डिभिजन वन कार्यालयले एक महिनामा चुरे गाउँपालिकाको विभिन्न सामुदायिक वन क्षेत्र र गाउँबाट काठ बरामद गरेको हो । तस्करीका लागि चिरान गरिएको काठ बरामद गरेको वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो ।
उहाँका अनुसार वन कार्यालय एक्सनमा उत्रेपछि काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीको भागाभाग भएको छ । चुरे क्षेत्रबाट व्यापक काठ तस्करी र वन्यजन्तुको चोरी सिकार हुनेगरेको सूचना आएपछि डिभिजन वन कार्यालय धनगढीले खोजतलास र निगरानी बढाएको छ ।
ठाकुरले चुरे गाउँपालिका –२ खैरालामा दुईवटा सामुदायिक वनकै पदाधिकारीकोे काठ तस्करीमा संलग्नता रहेको बताउनुभयो । “सामुदायिक वनका पदाधिकारीहरुको भागाभाग छ”, सोमबार पत्रकार सम्मेललन गरी उहाँले भन्नुभयो, “उनीहरुको खोजीकार्य भइरहेको छ । हामी कारबाही गर्छौ ।”
ठाकुरको नेतृत्वमा खटेको वनकर्मीको टोलीले त्यहाँ रहेको त्रिवेणी र झरना सामुदायिक वनभित्र लुकाइएको अवस्थाबाट ठुलो परिमाणमा चिरान गरिएको काठ बरामद गरेको थियो । वन कार्यालयले सो ठाउँबाट २८७.५३ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको छ ।
यसैगरी, चुरे गाउँपालिका–५ मौरीबाट २३० थान चिरान गरिएको (१४९.९८ क्युफिट) काठ र सलानीबाट ११८ थान चिरान गरिएको (६८.६६ क्युफिट) काठ बरामद गरिएको छ । दुवै गाउँमा रहेको सामुदायिक वन उपभोक्त समूहलाई वनले पत्र पठाएको छ ।
यसैगरी, गौरीगङ्गा नगरपालिका –६ स्थित बाह्रवन साझेदारीबाट ३३ थान खयर (२५.२८ क्युफिट) बरामद गरिएको छ । खयरसहित गोदावरी नगरपालिका–७ का दुई जनालाई पक्राउ गरेर मुद्दा पनि चलाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।