प्रतीक इच्छुक शर्मा
सल्यान, पुस २८ गते । सल्यानको शारदा नगरपालिकाको तीन हजार २८० घरधुरीमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । स्वास्थ्यमा सुधार ल्याउने, घरभित्रको धुवाँ न्यूनीकरण गर्ने तथा दाउराको खपत कम गर्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।
शारदा नगरपालिकाका धेरै घरधुरीले पहिलो पटक सुधारिएको चुलो प्रयोग गर्न थालेका छन् । चुलोको प्रयोगले घरभित्रको धुवाँ उल्लेखनीय रूपमा घट्नुका साथै आँखा पोल्ने, खोकी लाग्ने र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने अपेक्षा गरिएको वातावरण संरक्षण शिविर (एक्का नेपाल) की कर्मचारी मनीषा रेग्मीले बताउनुभयो । उहाँका अनुसार थोरै दाउराबाट पनि खाना पकाउन सकिने भएकाले समय, श्रम र खर्च बचत हुनुका साथै वन संरक्षणमा सहयोग पुग्नेछ ।
तीनदेखि सात जना सदस्य रहेको, वार्षिक आम्दानी न्यून भएका तथा परम्परागत चुलो प्रयोग गर्दैआएका घरधुरीलाई प्राथमिकतामा राखी चुलो वितरण गरिएको जनाइएको छ । एक थान सुधारिएको चुलो पाँच हजार रुपियाँका दरले वितरण गरिएको र कुल लागत एक करोड ६४ लाख रुपियाँ पुगेको छ ।
चुलोको प्रयोगबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । शारदा नगरपालिका –१४ बुचेका मोते दमाईले आफूले यसअघि परम्परागत चुलो मात्रै प्रयोग गर्दैआएको बताउँदै सुधारिएको चुलो पहिलो पटक प्रयोग गर्दा धुवाँ निकै कम भएको र कम दाउरामा छिटो खाना पाक्ने अनुभव सुनाउनुभयो ।
यसैगरी शारदा नगरपालिका–१५ हरलेकी निर्मला राजगुरुले सुधारिएको चुलोमा कम दाउरा लाग्ने भएकाले आर्थिक रूपमा पनि सहज भएको बताउनुभयो ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले स्वास्थ्य सुधार तथा वन र वातावरणको दिगो प्रयोगका लागि नगरपालिकाले यस्ता रचनात्मक र प्रभावकारी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।