काठमाडौँ, पुस २८ गते । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले भुकम्प सुरक्षासम्बन्धी दिवसीय कार्यक्रमको औचित्य पुष्टि हुनु पर्ने बताउनु भएको छ ।
२८औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०८२ सन्दर्भमा विभागको प्रचारप्रसार उपसमितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट यस वर्ष भुकम्पीय सुरक्षा तथा बलियो पुनर्निर्माणसम्बन्धी सम्पादन भएका मुख्य कार्यहरूको उल्लेख गर्नु भएको छ ।
उहाँले भन्नु भयो, “भुकम्प सुरक्षा दिवस एउटा रिच्युअल प्रोसेस मात्र नहोस् । यो साँच्चिकै प्रभावकारी होस् । यसको सन्दर्भ, यसको औचित्यता पुष्टि होस् । सचेतना एकैचोटी प्रवहा हुँदैन । हरेक वर्ष भुकम्प दिवसले केही न केही नागरिक स्तरमा स्थानीय पालिकामा केही न केही यसको प्रभाव पर्दै गइरहेको छ ।”
उहाँले भुकम्पसम्बन्धी सचेतना बढ्दै गएको भन्नेबारे भवन संहिता कार्यान्वयनले मापन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “सचेतना एकैचोटी प्रवाह हुँदैन । हरेक वर्ष भुकम्प दिवसले केही न केही नागरिक स्तरमा, स्थानीय पालिकामा केही न केही यसको प्रभाव पर्दै गइरहेको छ । यो चाहिँ हामी कहाँबाट मापन गर्छौं भने भवन संहिता कार्यान्वय र स्थानीय स्तरमा बन्ने भवनहरूको गुणस्तरबाट प्रभावकारी बन्दै गइरहेको छ भन्ने मापन गर्न सकिन्छ ।”
उहाँको अनुसार यस वर्ष ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने मुल नाराका साथ माद्द २ गते २८ औं भुकम्प सुरक्षा दिवसको कार्यक्रम आयोजना हुने जानकारी दिनु भयो ।
प्राधिकरणबाट भएका मुख्य कार्य
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट यस वर्ष भएका विभिन्न कार्य भएका छन् ।
उहाँका अनुसार प्रधिकरणले नयाँ भवन निर्माण संहिता अनुसार बलियो भुकम्प प्रतिरोधी निजी आवास निर्माण, डिजाइन तथा नक्सापास लगायतका विषयमा स्थानीय तहका प्राविधिकलाई तालिम दिने काम जारी छ । सो सम्बन्धमा सिकर्मी र डकर्मीलाई समेत तालिम दिने कार्यक्रम रहेको छ ।
यससँगै आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन कार्यविधि, २०८२ विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट पारित गरी कार्यान्वयनमा लगिएको छ ।
देशभरीका दस जिल्लाका एक सय ४३ स्थानीय तहमा र्यापिड भिज्युअल सर्भे कार्यक्रम अघि बढिरहेको छ । खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्डको मस्यौदा तयार भएको । भुकम्प लगायत विपद्बाट पुनर्निर्माण गर्न सकिने ३४ वटा घरका डिजाइन मोडलको मस्यौदा तयार भएको ।
भुकम्प सुरक्षा एवम् बलियो संरचना निर्माणसम्बन्धी श्रव्यदृश्य सामग्री उत्पादन तथा विभिन्न सञ्चारका माध्यम एवम् सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण गरी निरन्तर सचेतना अभिवृद्धिको काम भइरहेको उहाँको भनाइ छ ।