माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), पुस २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की जिल्लामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, कास्कीले सूचना जारी गर्दै २ हजार ३०३ जना म्यादी प्रहरी माग गरेको हो । इच्छुक नेपाली नागरिकले माघ १ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सार्वजनिक बिदाको दिनमा पनि दरखास्त दिन सकिने समितिले जनाएको छ । दरखास्त फाराम लिन र बुझाउन कास्कीमा जिल्ला प्रहरी कार्यालय, गैह्रापाटन, र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण, मालेपाटन, पोखरालाई तोकिएको छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नरहेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्ने छन् । भर्नामा पूर्व सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी), पूर्व वन रक्षक, विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका व्यक्तिहरू र यसअघिका निर्वाचनमा प्रहरीको रूपमा काम गरेका व्यक्तिलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
४० दिनको कार्यावधिका लागि भर्ना गरिने निर्वाचन प्रहरीले पारिश्रमिक प्रतिदिन ८ सय ६९.४० रुपियाँका दरले ४० दिनको जम्मा ३४ हजार ७ सय ७६, खाद्यान्न बापत रासनको दररेट अनुसारको रकम, खाजा खर्च प्रतिदिन ३०० रुपियाँका दरले ४० दिनको १२ हजार रुपियाँ, पोशाकको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रधान कार्यालयले तोकेबमोजिमको रकम, सबै रकम निर्वाचन प्रहरीको व्यक्तिगत बैँक खातामा जम्मा गरिने छ ।
आवेदन परेका व्यक्तिहरूको छनोट प्रक्रिया माघ ५ गतेदेखि माघ ९ गतेसम्म चल्ने छ । अन्तिम नतिजा माघ १२ गते प्रकाशन गरिने छ । सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन हुने समितिले जनाएको छ । दरखास्त दिँदा नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य पेस गर्नुपर्ने छ ।