घोराही समाचारदाता
घोराही, पुस २८ गते । दाङ अन्डामा आत्मनिर्भरसँगै बाहिर निर्यात गर्ने जिल्लाका रूपमा चिनिन थालेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङका अनुसार प्रतिव्यक्ति वार्षिक रूपमा आवश्यक पर्ने ४८ युनिट अन्डाभन्दा बढी जिल्लामा अन्डा उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा १४१ युनिट उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र दाङले जनाएको छ । यो उत्पादन आव २०८०/८१ को भन्दा धेरै हो । आव २०८०/८१ मा दाङमा १३८ युनिट अन्डा उत्पादन भएको थियो । जिल्लामा उत्पादन भएको अन्डा आवश्यकता अनुसार पुगेर जिल्लाबाहिरसमेत निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. हरिनारायण चौधरीले बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा वार्षिक नौ करोड ५२ लाख २३ हजार गोटा अन्डा उत्पादन हुने गरेको छ । जसमा कुखुराको नौ करोड ४३ लाख ७३ हजार र हाँसको आठ लाख ५० हजार गोटा अन्डा उत्पादन हुने गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा आव २०८१/८२ मा नौ करोड ४३ लाख १८ हजार गोटा अन्डा उत्पादन भएको थियो । जसमा कुखुराको नौ करोड ३२ लाख ७८ हजार र हाँसको १० लाख ४० हजार गोटा अन्डा उत्पादन भएको कार्यालयले जनाएको छ ।
आव २०८१/८२ मा ५५ करोडको अन्डा जिल्लाबाहिर निर्यात हुँदा करिब १४ लाख ८५ हजार रुपियाँको अन्डा आयात भएको देखिन्छ । कतिपय व्यवसायीले व्यक्तिगत सम्बन्धका कारण बाहिरबाट पनि अन्डा ल्याउने गरेको भन्दै कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “जिल्लाका लागि आवश्यकता अनुसार अन्डा उत्पादन हुने गरे पनि कतिपय अवस्थामा व्यवसायीले बाहिरबाट पनि ल्याउने गरेको देखिन्छ ।” जिल्लामा अन्डा उत्पादनका लागि अन्डाका लागि करिब १३० बढी लेयर्स फार्महरू रहेका छन् ।
दाङमा उत्पादन भएका अन्डा छिमेकी जिल्ला रोल्पा, प्युठान, अर्घाखाँची, बाँकेसँगै बर्दिया, सुर्खेत, दैलेख, कैलाली, रुकुमलगायतका ठाउँमा जाने गरेको नेपाल लेयर्स कुखुरापालक सङ्घका जिल्ला सहसचिव अजय न्यौपानेले बताउनुभयो ।
पोल्ट्री व्यवसायमा राम्रो मानिने दाङमा तीन अर्ब बढीको लगानी छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु र अन्डा उत्पादनसँगै कुखुराका लागि आवश्यक पर्ने दाना उद्योग र कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा समेत लगानी बढ्दै गएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब २५० फार्म र १३० बढी अन्डा उत्पादनका लागि फार्म सञ्चालनमा रहेका छन् ।
जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यकासँगै देउखुरी क्षेत्रमा बढी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङका कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।