• २७ पुस २०८२, आइतबार

दिल्ली गएका निलबहादुर बेपत्ता

blog

दिल्लीमा बेपत्ता हुनु भएका निलबहादुरका आमा, श्रीमती र छोरा । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस २७ गते । टर्की जानका लागि ‘भिएफएस’ गर्न दिल्ली जानु भएका लमजुङका एक युवा दुई महिनादेखि बेपत्ता हुनु भएको छ ।  

दोर्दी गाउँपालिका–९, हिलेका ४१ वर्षीय निलबहादुर तामाङ दुई महिनादेखि दिल्लीबाट बेपत्ता हुनु भएको हो । तामाङ भिएफएस गर्न कात्तिक १४ गते घरबाट दिल्ली निस्किनु भएको थियो । 

कात्तिक १७ गते बिहान ११ जनाको समूहले जनही २१ हजार भारतीय रुपियाँ तिरेर भिएफएस गरेर नेपाल फर्किए पनि निलबहादुर मात्रै नफर्किएको परिवारले जनाएको छ । 

गाउँकै चिनजानका व्यक्ति श्रीप्रसाद गुरुङको माध्यमबाट निलबहादुरले काठमाडौँबाट भिषा प्रक्रिया अघि बढाउनु भएको थियो । कन्ट्याक्ट पेपर आएपछि म्यानपावरले भिषा सहजीकरण (भिएफएस) का लागि भारतको नयाँ दिल्ली पठाएको थियो । निलबहादुरको श्रीमती मैतीमाया तामाङले भन्नुभयो, “कात्तिक १४ गते घरबाट निस्किनु भएको हो । बाटोमा कुराकानी भइरहेको थियो । १५ गते बेलुकी रक्सौल पुगियो भनेर फोन आयो, त्यसपछि सम्पर्क छैन ।”

दिल्लीमा निलबहादुरसँगै लमजुङकै सुन्दर बजार नगरपालिका–९, बगैँचाका विकास गुरुङ र फूलबारीका मोतीप्रसाद गुरुङ पनि साथमा हुनु हुन्थ्यो । कात्तिक १६ गते राति पहाडगन्जस्थित होटल अशोकमा बास बसेर भोलिपल्ट बिहान भिएफएस गर्न सँगै गएको मोतीप्रसादले बताउनु भयो । 

दुई महिनादेखि छोरा बेपत्ता भएपछि ६९ वर्षीया आमा आइतु तामाङ चिन्तित हुनु हुन्छ । छोराको फोटो सुम्सुम्याउँदै उहाँले भन्नु भयो, “छोरो कहाँ गयो, कता हरायो । सबै मिलेर खोजी दिनु पर्छ ।’ टर्की जाने अरूको फ्लाइट नजिकिँदै गर्दा बेखबर बन्नु भएका निलबहादुरले सबैलाई झस्काएको वडाध्यक्ष आशिष तामाङले बताउनु भयो ।