• २७ पुस २०८२, आइतबार

निर्वाचन सफल पार्न सबै लागौं : मन्त्री अग्रवाल

blog

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल कार्यक्रममा । तस्बिरः गोविन्द शर्मा

गाोविन्द शर्मा

बाँके, पुस २७ गते । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताउनु भएको छ । 

आइतबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकारले सङ्घीय सरकार, निर्वाचन आयोगलगायत सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । 

मन्त्री अग्रवालले भन्नु भयो, “निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबै पक्षको ध्यान केन्द्रीत हुन आवश्यक छ ।” मन्त्री अग्रवालले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी व्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिनु भयो । 

उहाँले प्रदेश सरकारले सुरक्षा निकायलाई वार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरूले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी गर्नु भयो । 

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, प्रहरी उपरीक्ष अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नविन गिरी, पूर्व अध्यक्ष रुद्र सुवेदी लगायतले सुरक्षा निकाय र पत्रकारबिच निरन्तर समन्वय र सहकार्यमा जोड दिनु भयो । 

सो अवसरमा अपराध अनुसन्धान र मानवीय उद्धारको कार्यमा महत्त्वपूर्ण योगदान दिने नेपाल प्रहरीका नायब निरीक्षक प्रविण डिसी, सहायक निरीक्षक नविनकुमार शाही, हवलदार पुरन चौधरी, सशस्त्र प्रहरी बलका सहायक हवलदार (गोताखोर) मोहन विष्ट, सशस्त्र प्रहरी जवानहरू (गोताखोर) परमेश्वर थारू, रोशन केसी लगायतलाई कदरपत्रसहित सम्मान गरिएको छ ।