काठमाडौँ, पुस २५ गते । अधिकांश दुर्घटनाका घाइतेको शल्यक्रिया हुने राष्ट्रिय ट्रमा सेन्टरमा मोडुलर ओटी (आधुनिक एकीकृत शल्यक्रिया) कक्ष सञ्चालनमा आएपछि सङ्क्रमण घट्दै गएको छ । सेन्टरले अत्याधुनिक पाँच वटा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएपछि सङ्क्रमण घट्दै गएको हो ।
मोडुलर ओटीको सबैभन्दा ठुलो फाइदा सङ्क्रमण नियन्त्रण हो । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले शल्यक्रिया गरिसकेपछि सबैभन्दा ठुलो समस्या सङ्क्रमण फैलनु रहेको बताउनुभयो । सङ्क्रमण फैलनुमा सबैभन्दा महत्वपूर्ण विषय शल्यक्रिया कक्ष हो । “कस्तो शल्यक्रिया कक्ष प्रयोग गरिएको छ ? सङ्क्रमणलाई रोक्न सकिएन भने शल्यक्रिया गरेको कुनै औचित्य नहुन सक्छ,” निर्देशक डा. मरासिनीले भन्नुभयो, “ट्रमा सेन्टरमा शल्यक्रिया कक्ष मोडुलर निर्माण गरेपछि बिरामीलाई समेत धेरै राहत पुगेको छ ।”
सेन्टरको ओटी कक्षमा कार्यरत भूमिना गुरुङले मोडुलर ओटीमा सेन्सर भएकाले शल्यक्रियामा धेरै फाइदा पुग्ने बताउनुहुन्छ । यो वातावरणमैत्री हुने, सङ्क्रमण रोक्ने, हावामा रहेका ब्याक्टेरिया, भाइरस र धुलो हटाउने, शल्यक्रियापछि बिरामी छिटो निको हुने, बिरामीको अस्पताल बसाइ कम हुने, अन्तर्राष्ट्रिय मापदण्ड, उपकरण सुरक्षित व्यवस्थापन हुने, चिकित्सकका लागि सुरक्षित हुने बताउनुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीले मोडुलर शल्यक्रिया कक्ष परम्परागत सिमेन्ट र इँटाभन्दा वैज्ञानिक डिजाइन, वातावरणमैत्री र उच्च सङ्क्रमण नियन्त्रण प्रणालीमा आधारित हुने हुँदा फाइदा पुग्ने बताउनुभयो । मोडुलर शल्यक्रिया कक्षमा पर्खाल, छत, भुइँ, हावा प्रवाह एकीकृत रूपमा डिजाइन गरेर निर्माण गरिएको बताउनुभयो ।
सेन्टरले मोडुलर शल्यक्रिया बनाउँदा एक करोड ३६ लाख नौ हजार ८६५ रुपियाँ जोगिएको छ । कुल नौ करोड ७८ लाख १८ हजारमा निर्माण सम्पन्न गर्ने गरी सेन्टरले म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्ससँग सम्झौता गरेर निर्माण गरिएको थियो । सेन्टरका प्रमुख डा. मरासिनीले उक्त कम्पनीले सम्झौताभन्दा बढी समय लगाएकाले ८६ लाख ५६ हजार ४६४ जरिबाना गरिएको बताउनुभयो । शल्यक्रिया कक्षमा ल्याएको सामानको परिणाम घटाएर भुक्तानी दिएको भन्दै उहाँले समयभन्दा बढी समय लगाएकाले जरिबाना गरी सेन्टरलाई एक करोड ३६ लाख बचाएको बताउनुभयो ।
ट्रमा सेन्टरकी सङ्क्रमणसम्बन्धी फोकल पर्सन सोचना सापकोटाले मोडुलर शल्यक्रिया कक्ष निर्माण गरेपछि अस्पतालमा सङ्क्रमणदर कम हुँदै गएको जानकारी दिनुभयो । उहाँले ट्रमा सेन्टरमा घाइते, लडेका, दुर्घटनाबाट आएका बिरामीको शल्यक्रिया गर्नुपर्ने भएकाले सङ्क्रमण हुने ठुलो सम्भावना रहेको जानकारी दिँदै मोडुलर ओटी निर्माणपछि सङ्क्रमण घटेको बताउनुभयो । “सानो चोट लाग्दा पनि सङ्क्रमण हुने ठुलो सम्भावना हुन्छ,” सापकोटाले भन्नुभयो, “ट्रमा सेन्टरले मोडुलर ओटी व्यवस्था गरेपछि सङ्क्रमण घटेको छ ।”
उक्त मोडुलर ओटी म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालिले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएको थियो । मोडुलर ओटीमा सम्पूर्ण ढोका बाहिरी वातावरणबाट हुन सक्ने जोखिम नियन्त्रण गर्नेखालको हुन्छ । उहाँले हावा फिल्टर प्रणाली जस्ता अत्याधुनिक प्रविधि समावेश गरेर मोडुलर शल्यक्रिया कक्ष तयार गरिएको बताउनुभयो ।
मोडुलर शल्यक्रिया कक्ष गुणस्तरलाई महत्व दिएर निर्माण गरिएको हो । डा. मरासिनीले मोडुलर ओटी निर्माण गर्दा अपनाइएको प्रविधिले शल्यक्रियाका क्रममा सङ्क्रमणको जोखिमलाई कम गर्ने र स्वच्छता कायम राख्नमा योगदान पु¥याउने बताउनुभयो । मोडुलर शल्यक्रिया कक्षले शल्यक्रियाको सङ्ख्या बढाउनमा मद्दत गर्ने बताउनुभयो । उक्त मोडुलर ओटीमा ल्याफ प्रणालीको अतिरिक्त उच्च गुणस्तरको ग्लास प्यानल र स्टेनलेस स्टिल प्यानल प्रयोग गरिएको छ, जसले न्यूनतम मर्मत खर्च, कम सङ्क्रमणको ग्यारेन्टी हुने गर्छ । सरकारी अस्पतालमध्ये ट्रमा सेन्टरले ग्लास र स्टिल प्यानलसहितको अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष सञ्चालन गरेको हो ।