• १३ साउन २०८१, आइतबार

संसदीय छानबिन समितिले अर्थ मन्त्रालयसँग सम्बन्धित कागज र विवरण माग्ने

blog

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा । फाइल तस्बिर

काठमाडौं, असार २८ गते। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै निवर्तमान अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरणको लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो। 

बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय गरेको छ। सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गर्नुभएको बताउनुभयो। सचिव अर्यालले अर्को बैठक बुधबार दिउँसोे बस्ने बताउनुभयो। 

निवर्तमान अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय छिराएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यी संसदीय विषेश छानबिन समिति बनेको छ।

 शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। संसदीय छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य रहनुभएको छ। समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनुभएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा हुनुहुन्छ। छानबिन समितिले पहिलो बैठक बसेको १० दिनभित्र रिपोर्ट तयार पारिसक्नु पर्नेछ।