काठमाडौं, असार २८ गते । नेपाल बुद्धिचाल संघको नवनिर्वाचित कार्यसमितिले मंगलबार चारवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार मात्र विदुरप्रसाद गौतमको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै चार बर्षका लागि १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो ।
संघले तत्काल संघलाई झोलाबाट कार्यलयमा सार्ने, बुद्धिचाल खेललाई ग्रासरुट स्तरसम्म पुर्याउने, खेलाडीलाई सर्वाधिक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने र चारबर्ष भित्र बुद्धिचालको आईएम खेलाडी उत्पादन गर्ने योजना बनाएको छ ।
यसैगरी संघले संघले नेपालमा विश्व बुद्धिचाल महासंघ (फिडे)को अफिसियल प्रतियोगितालाई नियमित सञ्चालन गर्ने र वार्षिक क्यालेन्डर निर्माण गेरेर प्रतियोगिता र कार्यक्रम सञ्चालन गर्ने, एक साताभित्र संघको वेवसाइट सञ्चालन गर्ने, खेलाडी संरक्षण कोष स्थापना गर्ने, खेलाडी, आर्विटर, ट्रेनर र प्रतियोगिता आयोजकलाई अभिमुखीकरण कार्यक्रम सन्चालन गर्ने, देशभर ७७ वटै जिल्ला र पालिकामा बुद्धिचाल संघ गठन गर्ने, ‘चेस इन स्कुल’ कार्यक्रम सञ्चालन गर्नेलगायत योजना सार्वजनिक गरेको छ ।
अध्यक्ष गौतमले संघको सोमबार सम्पन्न निर्वाचन प्रक्रिया प्रक्रिया खेलकुद ऐन विपरीत नभएको प्रष्ट पनि पार्नुभयो । ‘केहि साथीहरुले निर्वाचन प्रक्रियाका बारेमा प्रश्न उठाएका छन् । तर, उनीहरु निर्वाचनको प्रक्रियामा नसमेटिएपछि असन्तुष्टि आएको मात्र हो,’ गौतमले भन्नुभयो ।
निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिनेमा पनि गौतमले विश्वास ब्यक्त गर्नुभयो । संघका निवर्तमान महासचिव हेराकाजी महर्जनले भने कार्यसमिति निर्वाचन प्रक्रिया नयाँ खेलकुद ऐन र विधान विपरित भएको भन्दै राखेप सदस्य सचिवलाई निवेदन दिनु भएको छ । यस विषयमा राखेपले औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।