कोकिला ढकाल
इलाम, पुस २२ गते । इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनका आयोजना गरिएको चारदिने पदयात्राको तयारी पूरा गरिएको छ ।
नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर गत वर्षदेखि तयार गरिएको निसान पदमार्गमा भोलिदेखि हुने पदयात्राको तयारी पूरा गरिएको हो ।
श्रीनाथ पल्टनले भारतको नागरीगढीबाट फर्काएको निसानलाई करफाेकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास छ । सुरक्षाका कारण त्यहाँबाट पनि नामसालिङको हात्तीटारमा निसान सारिएको थियो । पछि इलामको माईथानमा ल्याएर स्थापना गरिएको निसानलाई पुनः माईस्थान मन्दिरमै स्थापना गरिएको छ ।
श्रीनाथ पल्टनले प्रयोग गरेका तोपलाई समेत अघिल्लो वर्ष माईस्थान मन्दिरमै ल्याएर पुनःस्थापना गरिएको थियो । यसपटक भोलि पुस २३ गते पुस २६ गतेसम्म पदयात्रा गरिने इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाले संयुक्त आयोजना गरिएको पदयात्रा इलामस्थित नेपाली सेनाको रणशार्दूल गणले संयोजन गरेको गणपति प्रलाद घलेले जानकारी दिनु भयो ।
घलेका अनुसार नेपाल–भारत पूर्वी सिमाना मेचीबजारदेखि पदयात्राको शुभारम्भ हुनेछ । पहिलो र दोस्रो दिन सूर्योदय नगरपालिकाको करफाेकस्थित पूर्णेडाँडामा बास बस्नेछ । पुस २५ गते करफाेकबाट पुनः पदयात्रा माईजोगमाईको नामसालिङस्थित हात्तीटार आउनेछ र २६ गते इलाम नगरपालिकाको माईस्थान आइपुग्ने र समापन गरिने बताइएको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेला पूर्वको टिस्टासम्म पुगेको नेसाली सीमा वि.सं. १८७२ सुुगौली सन्धिपछि हालको मेची नदीमा आएर खुम्चिएको इतिहास छ । पृथ्वी जयन्तीको अवसर पारेर पनि यो पदयात्रा आयोजना गरिएको र पदयात्रामा करिब आठ हजार मानिस सहभागी हुने बताइएको छ ।