• २३ पुस २०८२, बुधबार

उपचारमा एक करोडभन्दा बढी खर्च

blog

सुर्खेत समाचारदाता

सुर्खेत, पुस २२ गते । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका दीर्घरोगीको उपचारमा एक करोडभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाभित्रका क्यान्सर, डायलासिस, मिर्गौला प्रत्यारोपण र मेरुदण्ड पक्षाघात जस्ता २३३ दीर्घरोगीलाई औषधी उपचार खर्चबापत एक करोड २७ लाख रुपियाँ खर्च गरिएको हो । 

नगरभित्रका उपचार गर्न नसक्ने दीर्घरोगीलाई कार्यविधि अनुसार मासिक पाँच हजारका दरले उपचार खर्च दिने गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीले मासिक पाँच हजारका दरले २३३ दीर्घरोगीलाई एक करोड २७ लाख रुपियाँ सहयोग प्रदान गरिएको बताउनुभयो । यसै गरी नगरपालिकाबाटै विपन्न नागरिकलाई औषधी उपचारका लागि भन्दै १८० जनालाई सिफारिस गरिएको छ । विपन्नले नगरपालिकामा उपचार सहयोगका लागि सिफारिस मागे कार्यविधि अनुसार १८० जनालाई सिफारिस गरिएको हो । सो सिफारिस अनुसार सेवाग्राहीले आफूले चाहेको स्वास्थ्य संस्थामा एक लाख बराबरको उपचार सहयोग पाउने गर्छन् । 

यसै गरी दीर्घरोग मानिने सिकलसेल एनिमिया थारू समुदायलाई लाग्ने गरेकाले उपचारका लागि पनि वीरेन्द्रनगर नगरपालिकाले परीक्षण मेसिन खरिद गरेर सुर्खेतस्थित प्रदेश अस्पताललाई दिएको छ । गत आवमा २० लाखको लागतमा परीक्षण गर्ने मेसिन खरिद गरी प्रदेश अस्पताललाई प्रदान गर्नुका साथै प्रत्येक वर्ष परीक्षण गर्ने किट खरिद गर्न दुई लाख रुपियाँ बजेट पनि विनियोजन गरिएको जानकारी संयोजक गिरीले दिनुभयो । उहाँका अनुसार साथै यस वर्ष पनि थारू समुदायमा सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने कार्यव्रmम रहेको छ । वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नीलकण्ठ खनालले विगतमा विपन्नलाई दिइने उपचार खर्च दुरुपयोग भएको गुनासो आएपछि अहिले नगरपालिकाले वास्तविक विपन्नको निःशुल्क बिमा गरिदिएको बताउनुभयो ।