• १३ साउन २०८१, आइतबार

‘नेपाल श्रीलङ्का जस्तो आर्थिक सङ्कटतर्फ गएको छैन’

blog

काठमाडौं, असार २८ गते। नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको छ। 

मङ्गलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले नेपाल श्रीलङ्काको जस्तो आर्थिक सङ्कटतर्फ नगएको बताउनुभएको हो। उहाँले नेपाललाई श्रीलङ्काको जस्तो अवस्था बन्न नदिनका लागि सचेत रहनुपर्ने जरुरी भने रहेको बताउनुभयो। 

उहाँले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नु मूर्खता र देशप्रतिको गद्दारी हुने बताउनुभयो। सांसद देवले श्रीलङ्काको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताउनुभयो उहाँले भन्नुभयो, ‘‘के कारणले श्रीलङ्का त्यहाँ पुग्यो ? नेपाल त्यहाँ पुगिराखेको छैन। म एउटा अर्थशास्त्रको विद्यार्थीको नाताले, राजनीतिको पनि विद्यार्थीको नाताले म यो कुरामा ढुक्क छु। नेपाल त्यतातिर गइराखेको छैन। यो म कुनै पनि अर्थशास्त्री र कुनै नेताहरुसँग, बुद्धिजीवीसँग छलफल गर्न तयार छु।’’

उहाँले श्रीलङ्काले निरन्तरको दुई दशकदेखिको गलत आर्थिक नीति, भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो। उहाँले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो किसिमको ऋण नलिने यस विषयमा भने अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिका बीचमा बहस हुनुपर्ने बताउनुभयो। 

सांसद देवले नेपाल सरकारले अहिले लिएको आर्थिक नीति सकारात्मक भएको बताउनुभयो। सरकारले उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने नीति लिनु सकारात्मक भएको उहाँको भनाइ छ। 

‘‘अहिलेको सरकारले जे आर्थिक नीति लिएको छ। त्यो सही छ। उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने  नीति सकारात्मक छ’’, उहाँले भन्नुभयो। उहाँले विगतमा र अहिले सरकार चलाउने नेताहरुले आफू दलाल नोकरशाही पुँजीवादको घेरामा रहे नरहेकोमा समीक्षा गर्नुपर्ने बताउनुभयो।