साहारा लिम्बू
फुङलिङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत् उत्पादन पुनः सुरु भएको हो।
ताप्लेजुङमा उत्पादन गरेकामध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत् सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत् उत्पादन अवरुद्ध भएको थियो ।
उपकरणहरूमा आएको समस्या समाधानपछि शनिबार रातिदेखि विद्युत् उत्पादन सुरु भएको जलविद्युत् कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा हरेक वर्ष गर्नुपर्ने नियमित मर्मत तालिकाको कार्यलाई समेत एकैसाथ गरी उत्पादन सुरु गरिएको अधिकृत गौतमको भनाइ छ ।
जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा एक सय ३२ केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सबस्टेसनमार्फत जडान गरिएको हो ।