ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २० गते । सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि सहयोग अभियान थालिएको छ । जिल्ला भलिबल सङ्घर म्याग्दीले जग्गा खरिद र कभर्डहल निर्माणका लागि शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।
भलिबलको उर्वर भूमि म्याग्दीमा भलिबल खेलाडी उत्पादन, खेल क्षेत्रको विकास र प्रतियोगिताहरु सञ्चालनका लागि सुविधासम्पन्न खेल पूर्वाधार नभएकाले सहयोग जुटाएर कभर्डहल निर्माण गर्ने अभियान थालिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
कभर्डहलका लागि आवश्यक पर्ने बेनी नगरपालिका वडा नम्बर ७ स्थित दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजार रुपियाँ जग्गा खरिद गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।
उहाँले भन्नुभयो, ‘‘म्याग्दी भलिबल खेलको उर्वरभूमि हो । जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीहरु उत्पादन भए पनि जिल्लाभित्र सुविधासम्पन्न भलिबल कभर्डहल नभएकाले सहयोग जुटाएर कभर्डहल बनाउन खोजेका छौं ।’’
करिब तीन करोड रुपियाँ लागतमा तयार हुने कभर्डहलमा एक हजार जना दर्शक अट्ने क्षमताको भलिबल कोर्ट, अफिसियल बैठककक्ष, जिमहल, कपडा फेर्ने कोठा, चमेनागृह, प्यारापिट, एलसिडी बोर्ड, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, शयनकक्ष, भण्डारण, जेनेरेटर र कार्यकक्ष रहनेछ । कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष बानियाँले बताउनुभयो ।
कभर्डहल निर्माणका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र जिल्लावासीबाट सहयोगको अपेक्षा गरिएको छ । कभर्डहल निर्माणपछि सङ्घअन्तर्गतको अक्षयकोष कार्य समितिमार्फत भलिबल प्रशिक्षण केन्द्रका रुपमा सञ्चालन गरिने योजना छ ।
विसं २०८० मा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा स्थापना भएको ४७ लाखको अक्षयकोष रकम वृद्धि गरी ब्याजबाट खेल प्रशिक्षण तथा प्रतियोगिताहरु सञ्चालन गरिने संघले जनाएको छ । कभर्डहल निर्माण गर्ने योजनालाई साझा मानेर सघाउने जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
खेलाडी उत्पादनका लागि प्रशिक्षण र उमेर समूहको आधारमा प्रतियोगिता आयोजना गरी म्याग्दीलाई भलिबलको हब बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी व्यावसायिक खेलाडी उत्पादनमा जोड दिने, खेल संस्थाको विकास, विस्तार गर्न र अनुशासित, स्वस्थ्य नागरिक उत्पादनमा मद्दत पुर्याउने कभर्डहल निर्माणको प्रमुख उद्देश्य छ ।
सहयोग सङ्कलन अभियानको पहिलो दिन अध्यक्ष बानियाँले एक लाख, व्यवसायी नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले ५०–५० हजार र चिरञ्जीवी शर्माले २५ हजार रुपियाँ सहयोग गरेको स3|घका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।