पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, पुस २० गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित कजरिया टायल्स उद्योगमा दुई जना मजदुरको मृत्यु भएको घटनाले उग्ररुप लिएको छ । उद्योग प्रशासनको लापरबाहीका कारण श्रमिकको ज्यान गएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्तिको माग गरेका छन् भने माग सम्बोधन नभएसम्म उद्योगको सम्पूर्ण कामकाज बन्द भएको छ ।
उद्योग भित्र मृत फेला परेका बर्दघाट–१३ का होमबहादुर थापा र भारतीय नागरिक विनोद कुमारको मृत्यु ग्यास चुहावटका कारण निसास्सिएर भएको प्रारम्भिक अनुमान गरिएको छ । ग्यास आसपासको जोखिमपूर्ण क्षेत्रमा काम गर्ने ती कामदारहरूका लागि उद्योगले अनिवार्य सुरक्षा पोसाक उपलब्ध नगराएका कारण उनीहरूको ज्यान गएको सरोकारवालाहरूको दाबी छ ।
थापा र भारत उत्तर प्रदेश, प्रतापगण जिल्लाका ३० वर्षीय विनोद कुमार यही पुस १७ गते उद्योग भित्र मृत अवस्थामा फेला पर्नुभएको थियो । प्रहरीका अनुसार उद्योगको ‘ग्यासी फायर पोकिङ फ्लोर’ मा कागजको गत्ता ओछ्याएर सुतिरहेको अवस्थामा उहाँहरु मृत भेटिनुभएको हो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित कजरिया टायल्स उद्योगमा दुई जना मजदुर मृत अवस्थामा भेटिएपछि उत्पन्न तनाव कम गर्न माग सम्बोधन नभएसम्म उद्योग बन्द गरिएको छ । पीडित पक्षको माग सम्बोधन नहुँदासम्मका लागि उद्योगको सम्पूर्ण कामकाज बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीका अनुसार, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन उद्योगका आधिकारिक व्यक्तिहरूको रोहबरमा पुनः वार्ता गर्ने सहमति भएको छ ।
पीडित पक्षले मृतकका परिवारलाई एक करोड रुपियाँ राहत, परिवारका सदस्यलाई रोजगारी र मृतकका सन्तानलाई उच्च शिक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो, “पीडित पक्षका न्यायोचित मागहरू पूरा नभएसम्म उद्योग बन्द रहने गरी सर्वपक्षीय सम्झौता भएको छ । हामी पीडितलाई उचित न्याय दिलाउन प्रतिबद्ध छौँ ।’’
कजरिया टायल्सका प्रबन्धक हिमान्सु अग्रवालले मृत्युको वास्तविक कारण प्रहरी अनुसन्धानबाट खुल्ने बताउनुभयो । ग्यास चुहावटका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ ।