• २१ पुस २०८२, सोमबार

बढे राजनीतिक दलका गतिविधि

blog

बुटवल समाचारदाता

बुटवल, पुस २० गते । आगामी फागुन २१ गते तोकिएको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा राजनीतिक दलहरूको चहलपहल बढ्न थालेको छ । उम्मेदवार बन्ने तयारी गरिरहेका विभिन्न राजनीतिक दलका नेताहरू आआफ्नो निर्वाचन क्षेत्रमा आउने, घुमघाम गर्ने तथा स्थानीय बासिन्दाका समस्याका बारेका बुझ्न र बोल्न थालेका छन् । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका राजनीतिक दलहरूले जिल्लामा आन्तरिक छलफल, भेला तथा सभा आयोजना गर्न थालेका छन् । सहर बजारदेखि गाउँघरसम्मै अहिले निर्वाचनलाई लिएर चर्चा परिचर्चासमेत सुरु भएको छ । निर्वाचन आयोगको रुपन्देही जिल्ला कार्यालयले समेत चुनावकेन्द्रित आन्तरिक तयारी सुरु गरिसकेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालले चुनाव नजिक आउँदै गर्दा दलहरूले निर्वाचनसँग सम्बन्धित सामग्री लैजान थालेको बताउनुभयो । उहाँले निर्वाचनका लागि आवश्यक जनशक्ति खोजी र व्यवस्थापन गर्ने काम सुरु गरिसकेको बताउनुभयो ।

यो निर्वाचनमा रुपन्देहीका छ लाख ७२ हजार ५२३ जना मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गर्न सक्ने छन् । रुपन्देहीमा तीन लाख ४६ हजार २०३ जना पुरुष र तीन लाख २६ हजार ३११ जना महिला मतदाता रहेका छन् । 

रूपन्देहीमा २०९ वटा मतदान स्थल र ७३२ वटा मतदान केन्द्र तोकिएका छन् । यो वर्ष बुटवलमा रहेको नवीन औद्योगिक कद्दरबहादुर रिता माध्यमिक विद्यालयमा रहने गरी एक वटा मतदान स्थल थपिएको छ । लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रुपन्देहीमा छन् । रुपन्देहीमा छ लाख ७२ हजार ५२३ जना मतदाता छन् । त्यसै गरी लुम्बिनी प्रदेशमा एक लाख ३७ हजार नयाँ मतदाता थपिएका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भन्दा अहिले एक लाख ३७ हजार ४३ नयाँ मतदाता थपिएका हुन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा यसअघि ३२ लाख ४९ हजार ६३७ जना मतदाता थिए । २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनपछिको समयमा एक लाख ३७ हजार ४३ जना मतदाता थपिएका हुन् । योसँगै लुम्बिनी प्रदेशमा कुल मतदाताको सङ्ख्या ३३ लाख ८६ हजार ६८० जना पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।