प्रवीण कुमार शर्मा
रौतहट, पुस २० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ताको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले यस्तो निर्णय गरेको नेकपा एमाले रौतहटका अध्यक्ष सच्चिदानन्द साहले जानकारी दिनुभयो । बैठकले रौतहट जिल्ला इन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य गुप्ताको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट १ मा नेकपा एमालेबाट उम्मेद्वार रहनुभएका केन्द्रीय सदस्य गुप्ता २६ हजार नौ सय २२ मत ल्याउनुभएको थियो । निर्वाचनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ३३ हजार पाँच सय २२ मत ल्याइ विजयी हुनुभएको थियो । यस अघि दोस्रो संविधानसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री नेपालसँग केन्द्रीय सदस्य गुप्ता तीन सय मतले पराजित हुनुभएको थियो ।
त्यस्तै, नेकपा एमाले रौतहट ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दनप्रसाद कुशवाहाको एकल नाम सिफारिस भएको छ ।
एमाले रौतहट २ बाट शैलेन्द्र कुमार साह, राजन यादव, गौरीशंकर प्रसाद जयसवाल, महम्मद अतिउल्लाह र मो फोजैल अहमदको नाम सिफारिस भएको क्षेत्रीय संयोजक कृष्णनन्दन रामले जानकारी दिनुभयो ।
एमाले रौतहट ४ बाट उम्मेदवारको नाम अझै टुङ्गो लागि नसकेको नेकपा एमालेका केन्द्रीय सदस्य आरती भण्डारीले बताउनुभयो ।