• २१ पुस २०८२, सोमबार

बैतडीमा पाँच नयाँ मतदानकेन्द्र थपिए

blog

केशव राज भट्ट
वाशुलिङ (बैतडी), पुस २० गते ।
बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लामा मतदान केन्द्र थप गरिएको हो ।

जिल्लाको सिगास गाउँपालिका वडा नं ४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका वडा नं ७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका वडा नं ९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका वडा नं  ३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका वडा नं ५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।

यससँगै मेलौली नगरपालिकाको एक मतदान केन्द्र समायोजन गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवस्थापछि बैतडीमा मतदान केन्द्रको सङ्ख्या दुई सय १४ पुगेको छ । अघिल्लो निर्वाचनमा जिल्लामा दुई सय १० मतदान केन्द्र रहेका थिए ।

मतदानस्थलको सङ्ख्या भने साविककै एक सय २९ नै कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको दिन सदरमुकाम क्षेत्रमा एक अस्थायी मतदान केन्द्र पनि सञ्चालन गरिनेछ । यसले निर्वाचन अवधिमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा विशेष अवस्थाका मतदातालाई मतदानमा सहजता पुर्याउने अपेक्षा गरिएको छ ।

यसैबिच, निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई तीव्र बनाएको छ । स्थानीय, प्रदेश र सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धा आश्रममा रहेका व्यक्तिको विवरण सङ्कलन भइरहेको छ ।

आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार तीन सय ७२ मतदाता कायम भएका छन् । यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार दुई सय १६ ले वृद्धि भएको कार्यालयका निमित्त प्रमुख जोशीले बताउनुभयो ।

निर्वाचनलाई सहभागितामूलक, पहुँचयोग्य र व्यवस्थित बनाउनेतर्फ गरिएको यो तयारीले बैतडीमा मतदान उत्साह बढाउने विश्वास गरिएको छ ।