• २१ पुस २०८२, सोमबार

मधेशमा सवारी दुर्घटना भयावह बन्दै

blog

अजय शाह
गौशाला (महोत्तरी), पुस २० गते ।
मधेश प्रदेशमा पछिल्ला केही वर्षयता सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । उपलब्ध तथ्याङ्कले नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखाएको छ । यसले प्रदेशमा सडक सुरक्षाको अवस्था कति चिन्ताजनक छ भन्ने स्पष्ट सङ्केत गर्दछ ।

सडक दुर्घटनाको  यति गम्भीर अवस्था हुँदाहुँदै पनि दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयासहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउछन् । गुणस्तरीय सडक संरचनाको अभाव, निर्माणमा हुने लापरबाही र भ्रष्टाचार, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियमको बेवास्ता तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने कारणले दुर्घटनाको जोखिम बढाएको बताइएको छ ।

चालु आर्थिक वर्षको मङ्सिरसम्म देशभर भएको १३ हजार ८८० वटा सवारी दुर्घटनामा एक हजार ४२ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । सो तथ्याङ्कअनुसार मधेश प्रदेशमा मात्रै २२० जनाको मृत्यु भएको देखिन्छ, जसले मधेसमा दुर्घटनाको गम्भीरता उजागर गरेको छ ।

आर्थिक वर्ष ०८१/०८२ मा साउनदेखि मङ्सिरसम्मको अवधिमा मधेश प्रदेशमा दुई हजार ६७१ वटा सवारी दुर्घटना भएकोमा ती दुर्घटनामा परि १९१ जनाको मृत्यु भएको र चार हजार ५७६ जना घाइते भएको तथ्याङ्क रहेको छ । सोही अवधिमा देशभर तीन हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र पाँच हजार ६८५ जना घाइते भएको प्रहरी तथ्याङ्क छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या बढी देखिएको छ । मधेश प्रदेशका आठवटै जिल्लामा भएका दुर्घटनामा युवा वर्ग बढी प्रभावित देखिएको तथ्याङ्कले चिन्ताको अवस्था देखाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनाबाट युवाहरू बढी प्रभावित भइरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले युवालाई लक्षित प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्न सके दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने धारणा व्यक्त गरेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख गोविन्द थपलियाले तीव्र गति, सडकको दुरावस्था र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको गुनासोलाई गम्भीर रूपमा लिइएको बताउनुभएको छ । उहाँले महोत्तरी जिल्लामा मात्रै पछिल्लो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सवारी दुर्घटनाको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

यी सबै कुरालाई मध्यनजर गर्दै सडक दुर्घटना विरुद्ध ट्राफिक प्रहरीको युवा अभियानअन्तर्गत तीव्र गति कम गराउन नियमिय चेकजाँच, लागुपदार्थ तथा मादक पदार्थ सेवन जाँच, दुई पाङ्ग्रे सवारीसँग २ मिनेट सचेतना दिने अभियान, स्कुल र क्याम्पसका विद्यार्थीलाई सचेतना कक्षा, बोर्ड, स्टिकर टास गर्ने र सचेतना मुलक जिङ्गल बजाउने, सडकको अवस्था ठिकठाक राख्न पहल गर्ने गराउने लगायतका विविध कार्यक्रम यो अभियानमा पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनुभयो ।

यसरी प्रदेशस्तरीय तथ्याङ्कले सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू बढी घाइते हुने र ज्यान गुमाउने गरेको देखाउछ । यसले दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू विशेषगरी युवा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँचलाई अझ प्रभावकारी बनाउने, मापसे परीक्षण कडाइका साथ लागू गर्ने, विद्यालय र क्याम्पसमा सडक सुरक्षासम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने तथा सवारी चालकलाई लक्षित सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।