बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), पुस २० गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ ।
गत मङ्सिर ११ गते दिउँसोको समयमा अवैध रूपमा १६४ रुख कटान गरेर गायब पारिएको थियो । अवैध रूपमा कटान गरेर रुख गायब पारिएपछि सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्बर ७ का वडाध्यक्षसहित गौरीघाट सामुदायिक वनका पदाधिकारीसँग सोधपुछ गरेको छ । छानबिन समितिका संयोजक साहले अवैध रूपमा रुख कटान गरिएपछि यहाँको वडा नम्बर ७ का वडाध्यक्ष घुम्मन राना तथा गौरीघाट सामुदायिक वनका अध्यक्ष कुमारी बोहोरासहित आठ जना पदाधिकारीसँग सोधपुछ गरिएको बताउनुभयो ।
सोधपुछका क्रममा सामुदायिक वनका पदाधिकारीले ती रुख कसको आदेशमा कसले काटेको भन्ने थाहा नभएको बयान दिएको साहले बताउनुभयो । यसै गरी सामुदायिक वनमै रहेको वडा कार्यालयका वडाध्यक्ष रानाले कसको आदेशमा रुख कटान गरिएको भन्ने जानकारी नपाएको प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । एकै पटक रुख कटान गरिएपछि छानबिन समितिले सो सामुदायिक वनक्षेत्रमा १६४ रुखका ठुटा फेला परेका थिए । जसमध्ये वनक्षेत्रबाट १०१.५५ क्युफिट खयर र ८६.०१ क्युफिट सिसौको काठ जङ्गलमै काटेर छाडिएको अवस्थामा फेला परेपछि सङ्कलन गरी घाटगद्दी गरिएको थियो । बाँकी काठ भने गायब पारिएको छानबिन समितिका संयोजक साहले बताउनुभयो । गायब पारिएको काठको खोजीका लागि वडा नम्बर ७ स्थित कार्की टोलका झन्डै एक सयभन्दा बढी स्थानीयका घर घरमा खानतलासी गरिएको उहाँले बताउनुभयो तर ती काठ भने फेला पार्न सकिएको छैन् ।
अवैध रूपमा रुख कटानबारे वडाध्यक्ष, वनका पदाधिकारी तथा स्थानीयसँग गरिएको सोधपुछका क्रममा अवैध रूपमा रुख कटान गर्नेको पहिचान भने खुल्न सकेको छैन । छानबिन समितिका संयोजक साहले यस क्षेत्रका स्थानीयसँग सोधपुछ गरिए पनि अवैध रूपमा रुख कटान गर्न लगाउने र कटान गर्नेको पहिचान भने खुल्न नसकेको बताउनुभयो ।
भोगाधिकारबिनै वनमा वडा कार्यालय
१०.७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनक्षेत्रमा भोगाधिकारबिनै २०७६ सालमा वडा नम्बर ७ कार्यालय, स्वास्थ्य चौकी तथा खेलकुद मैदान निर्माण गरिएको पाइएको संयोजक साहले बताउनुभयो । २०६५ सालमा स्थानीयले नै संरक्षण गर्ने गरेर सो सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको थियो ।
संरक्षण गर्नुको साटो अवैधानिक तवरले विभिन्न कार्यालय निर्माण गरिँदा वनक्षेत्र मासिँदै गएको उहाँले बताउनुभयो । जसले गर्दा जिम्मेवार निकायसमेत वनक्षेत्रको संरक्षणभन्दा विनाशतर्फ लागेको पाइएको उहाँले बताउनुभयो । वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा सामुदायिक वनको जमिन भोगाधिकार (हस्तान्तरण, अनुमति) बिना प्रयोग गर्न नपाइने उल्लेख छ । भोगाधिकारबिनै निर्माण गरिएका ती संरचना भत्काउन लगाइने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्रचन्द्र डिसीले बताउनुभयो ।
“भोगाधिकारबिनै अवैध अतिक्रमण गरेर यहाँका जिम्मेवार जनप्रतिनिधिले वडा कार्यालय, स्वास्थ्य संस्था, खेलकुद मैदान निर्माण गरेको देखिन्छ,” उहाँले भन्नुभयो, “कानुन मिचेर बनाइएका सबै संरचना हटाउन लगाउछौँ ।” सामुदायिक वनक्षेत्रलाई मासेर बस्ती बसाउने काम कानुनविपरीत भएकाले सबै संरचना हटाउन लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गौरीघाट सामुदायिक वनमा अनुमतिबिना वडा कार्यालय, स्वास्थ्य चौकी निर्माण गरेर बस्ती बसाउने योजना बनाएको देखिन्छ ।” सामुदायिक वन अतिक्रमण गर्ने योजना बर्सौंदेखिको रहेको खुल्नमा आएकाले हाल अवैध रूपमा रुख कटान गर्न लगाउने र काट्नेको खोजी जारी रहेको उहाँले बताउनुभयो ।
यसै गरेर वनको संरक्षण गर्दै आएको सामुदायिक वनका पदाधिकारीमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारीसमेत अगाडि बढाएको जनाइएको छ । सोधपुछका क्रममा रुख कटानको विषयमा कुनै जानकारी नभएको बयान गरे पनि जिम्मेवारीबाट पन्छिएको देखिएकाले वनका अध्यक्षसहित आठ जना पदाधिकारीमाथि मुद्दा चलाउने तयारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।