धनगढी समाचारदाता
धनगढी, पुस २० गते । थारू समुदायको मौलिक पहिचान बोकेको देउथान/मरुवा (थन्वा)/ भुइँयालाई पक्की बनाउने नाममा स्थानीय सरकार नै यो समुदायको पहिचान मास्न उद्दत रहेको पाइएको छ । कैलाली, कञ्चनपुरमा स्थानीय तहले थारू समुदायको देउथान, मरुवा र रानाथारू समुदायको भुइँया (देवता घर) लाई पक्की बनाउने नाममा मौलिक पहिचान मास्न थालेको देखिएको हो । दुवै जिल्लाका विभिन्न पालिकाका गाउँ गाउँमा पक्की देउथान/भुइँया बनाउने नाममा थारू समुदायको मौलिक पहिचानविपरीत मन्दिर बनाउने कार्य भइरहेको छ ।
देउथान/भुइँयाको डिजाइन वडाकै प्राविधिकले बनाउने गरेका छन् । स्थानीय भलमनसाका अनुसार थारू समुदायको देउथान/भुइँया घर जस्तो हुने गरेकाले त्यस्तो बनाउँदा बजेट स्वीकृत नहुने प्राविधिकले भन्ने गरेका छन् । बजेट स्वीकृत नभए फेरि समस्या हुने भयले उनीहरूकै डिजाइन स्वीकार गरेर देउथान/भुइँयाका नाममा मन्दिर बनाउन बाध्य भएको भलमनसाको भनाइ छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६, बैसक्खाका भलमनसा ठगीराम रानाले आफ्नो गाउँमा पक्की देउथान/भुइँया मन्दिर जस्तो बनेको बताउनुभयो । “देउथान घर जस्तो हुन लाग्यो यो पासै हुँदैन भनेर प्राविधिकले भन्न थाले,” उहाँले भन्नुभयो, “उनीहरूले त्यस्तो भनेपछि मन्दिर बनाइयो ।”
कैलालीको धनगढी उपमहानगरपालिका–८ मा राधाकृष्ण मन्दिरको करिब डेढ सय मिटरको दुरीमा पनि अर्को मन्दिर बनाइएको छ । नयाँ बनेको त्यो मन्दिरको वास्तविकता अर्कै रहेको छ । वडा नम्बर ८ को कार्यालयको पाँच लाख रुपियाँ सहयोगमा त्यो मन्दिर धनगढीगाउँका रानाथारू र थारू समुदायको देउथान/भुइँयाका नाममा बनाइएको हो ।
धनगढीगाउँका रानाथारू र थारू समुदायको देउथान एउटैमा रहेको वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो । उहाँका अनुसार थारू समुदायको आफ्नो देउथान नरहेका कारण रानाथारूकै भुइँयालाई देउथानका रूपमा पुज्दै आएका छन् । प्राविधिकले घर जस्तो देउथानका लागि बजेट पास नहुने जिकिर गरेपछि स्थानीयले मन्दिर स्वीकार गरेको वडाध्यक्ष चौधरीको भनाइ छ । उहाँले थप्नुभयो, “भुइँया माता मन्दिर भनेर बनाइएको छ । स्थानीयले पनि जे जस्तो बनाए पनि त्यसमा देवतै राखिने भन्दै सहमति जनाएका छन् ।” वडाध्यक्ष चौधरीले पक्की भुइँया बनाउने नाममा मन्दिर बनेको र मौलिकपन नरहेको स्वीकार गर्नुभयो । धेरै जनताबिच लोकप्रिय बन्नका लागि जनप्रतिनिधिले मठमन्दिर, देउथानका लागि धमाधम बजेट छुट्याउने गरेका छन् । विभिन्न पालिकाका थुप्रै गाउँमा सरकारी बजेटमा देउथानका नाममा मन्दिर बनिसकेका छन् ।
बेलौरी नगरपालिका–६, रिछाहाका भलमनसा जुहारी चौधरीले आफ्नो गाउँमा पनि मन्दिरको ढाँचामा देउथान निर्माण भइरहेको जानकारी दिनुभयो । “जोडबल गरेर पालिकाबाट बजेट त छुट्याइयो,” उहाँ भन्नुहुन्छ, “तर डिजाइन मन्दिरको स्वीकृत गरेर जग हाल्न लगाए ।” थारू समुदायको देउथान/थन्वा सानो घर जस्तै रहने गरेको छ तर पालिकाले त्यस्तो डिजाइनको देउथानका लागि बजेट पास नहुने जिकिर गर्ने गरेको भलमनसा बताउँछन् ।