खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), पुस २० गते । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दार्चुलामा पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको पाइएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयमार्फत विद्यालय भवन निर्माण भइरहेको कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार व्यास गाउँपालिकाको भूमिराज आधारभूत विद्यालय सल्याडी, शैल्यशिखर नगरपालिकाको भैरवनाथ आधारभूत विद्यालय दोबाटा, मालिकार्जुन गाउँपालिकाको गरडा माध्यमिक विद्यालय बाकुमा, लेकम गाउँपालिकाको खोदाइनाथ आधारभूत विद्यालय र महाकाली नगरपालिकाको मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा गरी पाँच वटा भवन निर्माण हुने छन् ।
गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार अपरिहार्य हुनुपर्ने नीति अनुसार जिल्लाभरि दुईकोठे पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा निर्माण पूरा गर्ने गरी विद्यालय भवन निर्माणको काम अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा छ, केही विद्यालयसँग सम्झौता गर्ने काम सकेर काम सुरु गर्ने तयारीमा छौँ ।”
विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सामाजिक विकास मन्त्रालयले यस आवका लागि एक करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । विद्यालय भवन निर्माणका लागि मन्त्रालयले प्रतिविद्यालय २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले गत आव २०८१/८२ मा पनि एक करोड ७७ लाखमा नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, पाँच वटा विद्यालय भवन निर्माण गरेको उहाँले बताउनुभयो ।