• २१ पुस २०८२, सोमबार

मधेशमा फेरि शीतलहर, जनजीवन प्रभावित

blog

बाक्लो हुस्सु, कुहिरो लागेर ढाकेको सर्लाहीस्थित एक बस्ती । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री 
सर्लाही, पुस २० गते ।
सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरु भएपछि जनजीवन कष्टकर बनिरहेको छ । बिहीबार र शुक्रबार दिउँसो पारिलो घाम लागेपछि शनिबारदेखि पुनः शीतलहर भएपछि  जनजीवन कष्टकर भएको हो ।

शीतलहरका कारण बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस प्रभावित बनेका छन् । हुस्सु, कुहिरोका कारण मधेश प्रदेशमा दैनिक जनजीवनसँगै यातायात र हवाइ क्षेत्रसमेत प्रभावित बनिरहेको छ ।

अत्यधिक चिसो र शीतलहरका कारण अत्यावश्यक काम परेर यात्रा गर्नुपर्ने मानिसहरु बढी प्रभावित छन् । विद्यालय जानुपर्ने बालबालिका, विभिन्न कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही र सेवा प्रवाह गर्नुपर्ने कर्मचारीलाई पनि चिसो, बाक्लो हुस्सु र शीतलहरले समस्या पारिरहेको छ ।

हुस्सु, कुहिरोका कारण किसानले उब्जाएको विभिन्न बालीनालीमा सङ्क्रमण बढेको छ । जाडो असाध्य बढ्दा चौपाय र पन्छी जोगाउन मुस्किल परेको किसानले गुनासो गरेका छन् ।

रातदिन शीतलहर जारी रहँदा सर्लाहीमा सडक नै भिजेको छ । रुखविरुवाका पात शीतले छपक्क भएर भिजेका छन् । चिकित्सकले यस्तो प्रतिकूल मौसममा अत्यावश्यक काम पर्दाबाहेक घरभित्रै न्यानो भएर बस्न, बालबच्चा र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।