रमेश विश्वकर्मा
गुल्मी, पुस २० गते । गुल्मीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । खुकुरी युथ क्लबको आयोजनामा इश्मा गाउँपालिकामा अवस्थित बीपी पार्क खेलमैदानमा जिल्लास्तरीय अन्तर विद्यालय (कक्षा १० सम्म) छात्र क्रिकेट प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष निशान टण्डनले जानकारी दिनुभयो । गुल्मी जिल्लाका माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आगामी माघ ६ गतेदेखि १० गतेसम्म हुन लागेको हो । अघिल्लो वर्ष सफलतापूर्वक सम्पन्न गरिएको प्रतियोगिताको निरन्तरता स्वरुप यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।
प्रतियोगिताले जिल्लाभरका विद्यालय तहका विद्यार्थी खेलाडीहरुलाई खेलकुदमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै क्रिकेट खेलको विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय टोलीहरुले केही सर्तहरु अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । कक्षा ९ का खेलाडीहरुको हकमा २०८१ सालमा कक्षा ८ उत्तीर्ण भएको र कक्षा १० का खेलाडीहरुको हकमा २०८० सालमा कक्षा ८ उत्तीर्ण भएको देखिने मार्कशीटको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
एक टोलीमा अफिसियलसहित १८ जना रहनुपर्नेछ, जसमा १६ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टिम म्यानेजर अनिवार्य हुनेछ । टिम दर्ता पुस ३० गते बिहान १० बजेसम्म गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ता शुल्क दुई हजार ५०० रुपियाँ तोकिएको छ ।
प्रतियोगिताको टाइसिट माघ ३ गते दिउँसो १२ बजे सार्वजनिक गरिनेछ । खेलाडीहरुले खाना र बसोबासको व्यवस्था स्वयं गर्नुपर्नेछ भने खेल पोशाकमा अनिवार्य उपस्थित हुनुपर्नेछ । साथै, सबै खेलाडीहरुले विद्यालयको परिचयपत्र साथमा ल्याउनुपर्नेछ। प्रतियोगिताका क्रममा प्राथमिक उपचारको व्यवस्था मात्र आयोजकले गर्ने जानकारी दिइएको छ ।
खेल नकआउट प्रणालीमा सञ्चालन हुनेछ। खेल आइसिसिमा लागू भएका नियमहरू अनुसार खेलाइने छ । खेल खेल्न आउँदा प्रत्येक टोलीले आफ्नो विद्यालयको झण्डासहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा अम्पायर तथा आयोजकको निर्णय अन्तिम मानिने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप नगद २५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय पुरस्कार विजेताले नगद १५ हजार ५५५ रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधागत पुरस्कारअन्तर्गत ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबले जनाएको छ ।