• २१ पुस २०८२, सोमबार

आर्थिक वृद्धिदर औसतभन्दा बढी हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २० गते । राष्ट्र बैङ्कले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) का अनुसार यस्तो देखिएको हो ।

प्रतिवेदनका अनुसार विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट, कर्जा तथा निक्षेपको घट्दो ब्याजदर, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि, बाह्य पर्यटकको आगमनमा वृद्धिसँगै निर्यात र रेमिट्यान्स आप्रवाहमा पनि वृद्धि भएका कारण आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको हो । चालु आव २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान प्रतिवेदनमा छ ।

अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्धन गर्दै पुनर्निर्माण अघि बढाएको, साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएका लगायतका कार्यहरूले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान रहको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।

आव २०८१/८२ को कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२ प्रतिशत, १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

यस्तै आव २०८१/८२ मा मुलुकको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहको छ । कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ । प्रतिवेदन अनुसार गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत रहेको छ ।

२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा औसत कर्जा निक्षेप अनुपात ७६.६ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च रहेको छ । कुल निक्षेपमा बागमती प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको छ । आव २०८१/८२ मा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ भने कुल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ ।