• २१ पुस २०८२, सोमबार

वन चौकीदारको विभत्स हत्या

blog

जनार्जन खत्री

सर्लाही, पुस १९ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राईटरखोरमा शनिबार सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ । 

परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको हो । महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

शनिबार बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ जानुभएको थियो । महतो शनिबार दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरेका थिए । 

खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो । घटनास्थलमा अहिले साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । 

हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला परेको छैन् । घटनास्थलमा रहनुभएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आवश्यक अनुसन्धान र शव पोष्टमार्टमका अस्पताल लैजान प्रक्रिया भइरहेको गोरखापत्र अनलाइनसँग बताउनुभयो ।

वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा महतोको हत्या भएको बताउनुभयो ।