• २० पुस २०८२, आइतबार

गृहमन्त्री अर्यालद्वारा शान्ति पार्कको अवलोकन, जेनजी सहिदको नाम राख्नेबारे छलफल

blog

गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’को अवलोकन गर्नुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल।

काठमाडौँ, पुस १९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। 

गृहमन्त्री अर्याल त्यहाँ पुगेर हालसम्म उक्त सहिद पार्कमा राष्ट्रले घोषणा गरेका सम्पूर्ण सहिदहरूको नामावली र पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिनुभएको छ। 

अवलोकन भ्रमणका क्रममा मन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि जेनजी जनआन्दोलनका क्रममा सहिद घोषणा भएका ४२ जना जेनजी सुशासन योद्धा र तीन अमर प्रहरीलाई पार्कमा राख्नेबारे चासो व्यक्त गर्नुभयो।

यस्तै, मन्त्री अर्यालले सहिदबारे गरिएका यस अघिका विभिन्न मन्त्रिपरिषद्का निर्णयसहित हालको जेनजी जन आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नु भएका युवाकोसमेत सोही पार्कमा नामावली राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापन पत्रलाई अध्ययन गरेर गृह मन्त्रालयले उपयुक्त निर्णय लिने समेत समिति पदाधिकारीलाई जानकारी दिनुभयो। 

स्मारक पार्कका व्यस्थापन समितिका अध्यक्ष सिग्देलका अनुसार हाल उक्त पार्कमा राज्यले घोषणा गरेका दुई हजार भन्दाबढी सहिदको नामवली रहेको तर तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै संचालनको स्पष्ट खाका नभएकाले हाल पार्कको संचालनमा दुविधा रहेकाले समितिले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो।